काठमाडौँ
००:००:००
१९ असार २०८३, शुक्रबार

मौसम

सरदरभन्दा कम वर्षा र बढ्दो गर्मीले कृषि खडेरीको जोखिम

१९ असार २०८३
२०८२ को मनसुन अवधिमा मधेसमा प्रदेशमा परेको खडेरी। तस्बिरः युनिसेफ
अ+
अ-

प्रशान्त महासागरमा विकसित भइसकेको ‘एल निनो’ आगामी महिनाहरूमा अझ बलियो हुने देखिएको छ। विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले शुक्रबार जारी गरेको विश्वव्यापी मौसमी अद्यावधिकअनुसार एल निनो जुलाईदेखि सेप्टेम्बरसम्म तीव्र गतिमा विकास हुने र नोभेम्बरदेखि फेब्रुअरी २०२६ भित्र चरम अवस्थामा पुग्ने अनुमान गरिएको छ।

विभिन्न मौसम पूर्वानुमान मोडेलहरूले प्रशान्त महासागरको समुद्री सतहको तापक्रम सरदरभन्दा दुई डिग्री सेल्सियसभन्दा बढी हुन सक्ने देखाएका छन्।

तीव्र रूपमा बलियो हुँदै गएको एल निनोले विश्वका धेरै भागमा अत्यधिक गर्मी, खडेरी, भारी वर्षा र अन्य विषम मौसमी घटना बढाउन सक्ने डब्लूएमओले चेतावनी दिएको छ। यसले मनसुन प्रणाली कमजोर बनाउने भएकाले नेपालसहित दक्षिण एसियामा सरदरभन्दा कम वर्षा हुने जोखिम बढेको मौसमविद्हरू बताउँछन्।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार विभागले यसअघि नै यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान गरिसकेको छ। “हाम्रो पूर्वानुमानअनुसार नै मनसुनमा सरदरभन्दा कम पानी पर्ने देखिएको छ,” उनी भन्छिन्।

तर, कम वर्षा हुनुको अर्थ सबै ठाउँमा पानी नपर्नु मात्र होइन। पानी परे पनि त्यो अनियमित हुन सक्छ। कतै कतै छोटो अवधिमा भारी वर्षा हुने सम्भावना पनि देखिएको छ, जुन खेतीपातीका लागि खासै उपयोगी हुँदैन। “मौसमसम्बन्धी हाम्रो नियमित अवलोकनले केही आइसोलेटेड क्षेत्रमा भारी वर्षा हुने देखाएको छ। त्यसैले जानकारीका लागि भन्नैपर्छ,” पोखरेल भन्छिन्।

यसपालि मनसुन भित्रिएको दुई साता बितिसक्दा पनि खेतीलाई सुहाउँदो वर्षा नभएपछि किसानमा निराशा देखिन थालेको उनी बताउँछिन्। एल निनो झन् बलियो हुँदै गएकाले कम पानी पर्ने सम्भावना थप बढेको छ। “डब्लूएमओले औपचारिक रूपमा ‘सुपर एल निनो’ भन्दैन, तर सुपर एल निनो हुने सम्भावना उच्च हुँदै गएको छ,” पोखरेल भन्छिन्।

एल निनोले वर्षा मात्र होइन, तापक्रम पनि प्रभावित पार्छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष तापक्रम सरदरभन्दा बढी हुने पूर्वानुमान गरिसकेको छ। उखरमाउलो गर्मी बढ्दा मानव स्वास्थ्यमा असर पर्छ र विभिन्न रोगको जोखिम पनि बढ्न सक्छ।

प्रशान्त महासागरको समुद्री सतहको तापक्रम सरदरभन्दा दुई डिग्री सेल्सियसभन्दा बढी पुगेको अवस्थालाई सामान्यतया ‘सुपर एल निनो’ भनिन्छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानका अनुसन्धाता मदनलाल श्रेष्ठका अनुसार पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’ अर्थात् एल निनो-साउदर्न ओसिलेसन प्रणालीले नेपालको मनसुनी जलवायुमा ठूलो प्रभाव पार्छ। “नेपालमा प्रभाव देखिन थालिसकेको छ। कम पानी पर्ने अवस्था देखिएको छ,” उनी भन्छन्।

नेपालमा जुलाईदेखि सेप्टेम्बरसम्म मनसुनको मुख्य अवधि पर्ने भएकाले यही बेला कम पानी पर्दा खडेरीको जोखिम बढ्छ। अहिले देशभर धान रोपाइँ चलिरहेको छ। धानको बेर्ना सरेर बढ्ने बेलामा पर्याप्त पानी नपुगे उत्पादनमा असर पर्न सक्छ।

प्रशान्त महासागरमा विकशित हुँदै गरेको एल निनोले पृथ्वीमा वृद्धि गरेको तापक्रम दर। तस्बिर : एपीएफ/ गेट्टी इमेज

काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सेजकी संस्थापक तथा निर्देशक हेमु काफ्ले यसलाई ‘एग्रिकल्चरल ड्राउट’ अर्थात् कृषि खडेरीको जोखिमका रूपमा हेर्छिन्। “यसपालि मनसुन सरदरभन्दा पाँच दिन ढिला भित्रियो। अहिलेसम्म हेर्दा पानी कम परिरहेको छ। यसले कम्तीमै पानी पर्ने संकेत गर्छ,” उनी भन्छिन्, “मनसुनकै पानी कम हुने भएपछि एग्रिकल्चरल ड्राउटको जोखिम छ, अर्थात् कृषिमा असर पार्ने खडेरी हुने देखिन्छ।”

काफ्लेका अनुसार तराईका केही ठाउँमा कुलो वा डिप बोरिङमार्फत सिँचाइ सम्भव भए पनि अकासे पानीमा निर्भर पहाडी भूभागमा समस्या बढी देखिन सक्छ। “तराईमा कुलोबाट वा डिप बोरिङ गरेर सिँचाइ हुन सक्ला। तर अकासे पानीकै भर पर्नुपर्ने पहाडी भूभागमा खेतीबालीका लागि सिँचाइको समस्या गम्भीर हुने देखिन्छ,” उनी भन्छिन्, “नेपालको वार्षिक औसत वर्षा जति पानी परे पनि त्यो कृषि उपयोगी नहुन सक्छ।”

एल निनोले वर्षा मात्र होइन, तापक्रम पनि प्रभावित पार्छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष तापक्रम सरदरभन्दा बढी हुने पूर्वानुमान गरिसकेको छ। उखरमाउलो गर्मी बढ्दा मानव स्वास्थ्यमा असर पर्छ र विभिन्न रोगको जोखिम पनि बढ्न सक्छ।

अत्यधिक गर्मीको असर नेपालको सहरी क्षेत्रमा बढी देखिन सक्छ। खोला, नदीनाला र हरियालीले तापक्रम केही कम गर्न मद्दत गरे पनि सहरी क्षेत्रमा अव्यवस्थित र घना बस्ती छन्।

अहिले युरोपका केही देशमा अत्यधिक गर्मीकै कारण मृत्युदर बढेको विवरण सार्वजनिक भएका छन्। अघिल्लो महिना जुनमा स्पेन र फ्रान्समा गर्मीका कारण दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको विवरण आएका छन्। आगामी दिनमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुग्न सक्ने भन्दै केही देशले गर्मीबाट हुने असर कम गर्न पूर्वतयारी थालेका छन्। कतिपय देशले एल निनोको चर्चा सुरु भएदेखि नै तयारी पनि थालेका थिए।

नेपालमा भने यस्तो तयारी कमजोर रहेको काफ्ले बताउँछिन्। “हाम्रोमा त्यस्तो तयारी छैन। जहिले पनि विपद् भइसकेपछि राहत वितरण गर्ने काम मात्रै हुन्छ,” उनी भन्छिन्, “समग्रमा एल निनोले यसपालि खेतीमा ठूलै असर पार्न सक्छ।”

अत्यधिक गर्मीको असर नेपालको सहरी क्षेत्रमा बढी देखिन सक्छ। खोला, नदीनाला र हरियालीले तापक्रम केही कम गर्न मद्दत गरे पनि सहरी क्षेत्रमा अव्यवस्थित र घना बस्ती छन्। एसी जस्ता उपकरणले तापक्रम नियन्त्रण गर्न सकिने भए पनि त्यस्ता उपकरण किन्न नसक्ने कमजोर, विपन्न, सीमान्तीकृत र अल्पसंख्यक समुदायका नागरिकलाई गर्मीले बढी सताउने काफ्ले बताउँछिन्।

सरकारले एल निनोको असर न्यूनीकरणमा पर्याप्त ध्यान दिएको देखिँदैन। कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ लालकुमार श्रेष्ठका अनुसार सरकार अहिले नियमित जनचेतनामूलक कार्यक्रममा मात्रै सीमित छ। “अहिले यही सचेतना जगाउने वार्षिक कार्यक्रमलाई निरन्तरता दिइएको छ,” उनी भन्छन्।

उनका अनुसार नेपाल कृषि अनुसन्धान परिषद् र कृषि सूचना तथा प्रशिक्षण केन्द्रमार्फत कृषि बुलेटिन जारी गरेर किसानलाई खडेरी सहन सक्ने बाली लगाउन प्रेरित गरिँदै आएको छ। “पछि थप समस्या देखिए त्यतिबेलै समाधानका उपाय आउलान्,” श्रेष्ठ भन्छन्।

डब्लूएमओले भने एल निनोले कृषि र स्वास्थ्य जस्ता जलवायु संवेदनशील क्षेत्र तथा कमजोर समुदायमा पार्न सक्ने जोखिम कम गर्न पूर्वसूचना प्रणाली र पूर्वतयारीमा ध्यान दिन सबै देश र सरोकारवालालाई आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्…

खेतीका लागि पर्याप्त वर्षा अर्को साता मात्र

‘एल निनो’ संकट