समाज
मुस्ताङको ठिनी गाउँमा होमस्टे, रैथाने परिकार र सानो उद्यमबाट आत्मनिर्भर बन्दै महिला
पोखरा। घरपझोङ गाउँपालिका-५, ठिनीकी बत्तीमाया थकालीलाई अहिले आफूभित्रै भरोसा पलाएको छ। केही परे सामना गर्न सक्ने आँट आएको छ। त्यो आत्मविश्वास उनलाई दिएको हो– होमस्टे र सानो उद्यमले।
प्रदेश संरचना कार्यान्वयनमा आएपछि २०७४ सालमा मुस्ताङमा औपचारिक रूपमा होमस्टे सञ्चालन सुरु भयो। ठिनी गाउँमा होमस्टे सुरु गर्दा बत्तीमायासहित पाँच जना महिला मात्र जोडिएका थिए।
जोमसोम नजिकै भए पनि ठिनी त्यसबेला पर्यटकको मुख्य गन्तव्य थिएन। पर्यटकहरू प्रायः जोमसोम, मार्फा वा ढुम्बा तालतिर आकर्षित हुन्थे। नीलगिरिको काखमा रहेको, मौलिक शैलीका घरले सजिएको ठिनी गाउँ ओझेल परेको थियो। होमस्टेले त्यही ओझेल परेको गाउँलाई चिनाउने काम गर्यो।
होमस्टेले देखाएको बाटो
‘थकाली सामुदायिक होमस्टे’ सञ्चालनमा आएपछि ठिनीमा पर्यटक आउन थाले। सय जति घर रहेको गाउँमा अहिले १२ घर होमस्टेमा जोडिएका छन्। अर्गानिक स्वाद, थकाली आतिथ्य र शान्त गाउँ खोज्ने पर्यटकका लागि ठिनी बिस्तारै रोजाइको गन्तव्य बन्न थालेको छ।
पर्यटनमा जोडिएपछि बत्तीमायाले आफू आर्थिक रूपमा बलियो हुँदै गएको महसुस गरिन्। कमाइले उनलाई घरबाहिर निस्कन, समूहमा बोल्न र निर्णय लिन सहज बनायो।

थकाली सामुदायिक होमस्टेमा मायाको चिनो आदानप्रदान। तस्बिर : थकाली सामुदायिक होमस्टेको फेसबुक
“सबभन्दा अगाडि पैसा जाने हो, पछि मान्छे जाने हो,” बत्तीमाया भन्छिन्, “पैसा भएपछि ‘त्यहाँसम्म जाऔँ न साथीहरू’ भन्ने आँट आउँदो रहेछ। आर्थिक रूपमा चल्न सकियो भने खुट्टा सार्न सजिलो हुँदो रहेछ।”
होमस्टेले महिलालाई पाहुना राख्ने, स्थानीय खाना खुवाउने र गाउँ चिनाउने काममा मात्र सीमित राखेन। त्यसले उनीहरूलाई अर्को उद्यमतर्फ पनि डोर्यायो।
रैथाने बालीबाट उद्यम
होमस्टेसँगै ठिनीमा कोसेली घर सञ्चालनमा छ। त्यहीँ महिलाहरूले फापर, स्याउलगायत स्थानीय उत्पादनबाट विभिन्न खाद्य सामग्री बनाउँछन्।
फापरको बिस्कुट, फापरको कुकिज, स्याउको सुकुटी, स्याउको माडा र जुस जस्ता सामग्री उनीहरूले बनाउन थालेका छन्। स्थानीय उत्पादनबाट बनेका सामग्रीले बजार पनि पाएको छ। सदरमुकाम जोमसोम नजिक हुनु उनीहरूका लागि थप अवसर बनेको छ।
“हाम्रोमा सदरमुकाम नजिकै भएकाले बजार पाइराखेका छौँ,” बत्तीमाया भन्छिन्, “तालिमहरू पनि आउँछन्। पालिकाले पनि सहयोग गरेको छ। चाहिएको कुरा माग राख्यो भने मिलाएर दिनुहुन्छ।”

ठिनी कोसेली घर। तस्बिर : थकाली सामुदायिक होमस्टेको फेसबुक
घरपझोङ गाउँपालिकाले खाद्य सामग्री बनाउन र सुरक्षित राख्न ओभन र फ्रिज सहयोग गरेको थियो। तालिम र उपकरण पाएपछि महिलाहरूले घरगाउँकै उत्पादनलाई प्रशोधन गरेर बिक्रीयोग्य बनाउने सीप सिके।
होमस्टे सुरु गर्ने पाँच महिलामध्ये मीनाकुमारी थकाली पनि एक हुन्। उनका अनुसार कोसेली घरमा बिस्कुट र कुकिज बनाउन थालेको करिब दुई वर्ष भयो। सुरुआतमा होमस्टेका एक सदस्यले अर्गानिक रैथाने बालीसम्बन्धी तालिम लिएकी थिइन्। पछि त्यही सीप अरू सदस्यसम्म फैलियो।
त्यसपछि महिलाहरूले स्याउको जुस, माडा, सुकुटी र फापरका परिकार बनाउन थाले। उत्पादन बिक्री नभएर खेर जाने चिन्ता उनीहरूलाई धेरै छैन। स्थानीय बजार, पाहुना र जोमसोमको पहुँचले सामग्री बिक्रीमा सहयोग पुर्याएको छ।
कमाइसँगै बढेको आत्मविश्वास
ठूलो नभए पनि ठिनीका महिलाका उद्यमले घर खर्चमा सहयोग गरेको छ, आफ्नै कमाइको अनुभव दिएको छ र आत्मविश्वास बढाएको छ।

ठिनी गाउँबाट देखिएको नीलगिरि हिमाल। तस्बिर : थकाली सामुदायिक होमस्टेको फेसबुक
“धेरै ठूलो कमाइ त होइन,” मीनाकुमारी भन्छिन्, “आयआर्जनका लागि ठिकै छ। खानलाउन पुगेको छ। हामीले पनि अलिअलि पैसा देख्यौँ। यस्ता कामबाट पनि आयआर्जन हुँदो रहेछ भन्ने थाहा पायौँ।”
उनीहरू उत्पादन गर्दा सकेसम्म आफ्नै घरगाउँको सामग्री प्रयोग गर्छन्। सुरुमा तालिम, उपकरण, बजार र निरन्तरताको चुनौती थियो। तर, समूहमा काम गर्दा उनीहरू टिके। होमस्टेले पाहुना ल्यायो, कोसेली घरले उत्पादनलाई बजार दियो र कमाइले महिलालाई आत्मविश्वास दियो।
ठिनी गाउँको यस प्रयासले देखाउँछ– सानो उद्यमले पनि महिलाको जीवनमा ठूलो अर्थ राख्न सक्छ। होमस्टेले गाउँ चिनायो, रैथाने परिकारले बजार दियो, अनि कमाइले बत्तीमाया र उनका सहयात्रीलाई आफ्नै खुट्टामा उभिने आँट दियो।