काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका विषयमा जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बुधबार उनले संसद्मा प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षको आन्दोलन जारी रहेको बताए। उनले संसद्को नियम एक पक्षले मान्ने र अर्को पक्षले नमान्ने अवस्था आए त्यसले अराजकता निम्त्याउने धारणा राखे। उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई सदनमा नियमित उपस्थित गराउनसमेत सभामुखको ध्यानाकर्षण गराए।
उनले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा एक युवालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइएको घटनाप्रति पनि आपत्ति जनाए। प्रधानमन्त्री र मन्त्रीहरूलाई गाली गर्दा तत्काल पक्राउ पर्ने तर सांसदहरूलाई ज्यान मार्ने र घर जलाउने धम्की दिँदासम्म कुनै कारबाही नभएकामा उनले आपत्ति जनाए।
अध्यक्ष साम्पाङले सडक आश्रित दृष्टिविहीनहरूको उचित व्यवस्थापन गर्नुपर्ने मागसमेत गरे। साथै कम्तीमा १०-१५ जनाबाट सुरु गरेर उनीहरूलाई रोजगारीको प्रबन्ध मिलाउन पनि सरकारलाई सुझाव दिए।