काठमाडौँ। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाइएका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन्।
नेकपा (एमाले)का राजेन्द्रकुमार राईले आफूहरूले प्रतिनिधिसभाको नियमावलीमा भएको व्यवस्थाबमोजिम नै प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन माग गर्दै आएको जिकिर गरे।
उनले संवाद र सहमतिको वातावरण सृजना गर्न पनि आग्रह गरे। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले यसअघिको पहिलो बैठकमा सांसद राईले सभामुखलाई लक्षित गरी बोलेका शब्द रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का परशुराम तामाङले नेपालले कुनै पनि मुलुकको सीमा मिच्ने कुनै काम नगरेको र छिमेकीसँगको मित्रता कायम गर्दै आएकाले मिचिएको भूमि फिर्ताको माग गरे।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिका विषयमा जवाफ माग गरे। उनले सामाजिक सञ्जालमा गालीगलौज गर्ने प्रवृत्ति बढेको र सरकारले सबैलाई समान रूपमा कारबाही गर्नुपर्ने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटले उठेका विषयमा सदनमा आएर स्पष्ट पार्न सभामुखले गरेको प्रयास सार्थक नभएको टिप्पणी गरे।