काठमाडौँ
००:००:००
२४ असार २०८३, बुधबार

आवरण

मिचाहा वनस्पतिबाट कृषि उत्पादन, रैथाने वनस्पतिदेखि पर्यावरण र जैविक विविधतासम्ममा असर

२४ असार २०८३
अ+
अ-

त्रिभुवन विश्वविद्यालय, वनस्पतिशास्त्र केन्द्रीय विभागका प्राध्यापक भरतबाबु श्रेष्ठ तीन वर्षअघि कामविशेषले रुकुम पुगेका थिए। स्थानीय एक घरमा गमलामा काँडे वनमारा सजाएको देखे। संसारकै अति हानिकारक मिचाहा वनस्पति गमलामा रोपेको देख्दा उनले अचम्म माने। डेढ दशकदेखि मिचाहा वनस्पतिबारे अनुसन्धान गर्दै आएका प्राध्यापक श्रेष्ठले काँडे वनमाराले खुला तथा कृषियोग्य जमिन, वन, चौर, पर्खाल र पार्कमा फैलिएर पर्यावरण र जैविक विविधतामा पारेको नोक्सानीबारे अध्ययन गरेका छन्।

उनले घरधनीलाई त्यो वनमारा घातक रहेको बताउँदै सुरक्षित तवरले नष्ट गर्न सुझाव दिए। तर, घरधनीले मानेनन्। “बेफाइदा गर्छ भने नष्ट गरौँ न भन्नेमा श्रीमान् राजी भए पनि श्रीमतीले मान्दै मान्नुभएन,” उनी सुनाउँछन्, “बास्नादार फुल्छ, गमलाभन्दा अन्यत्र फैलिएको छैन, केही असर गरेकै छैन भन्न थाल्नुभयो।”

श्रेष्ठका अनुसार काँडे वनमारा नेपालको पूर्वदेखि पश्चिमसम्म (७५ मिटरदेखि दुई हजार मिटरको उचाइ) करिब ८० जति स्थानमा फैलिएको छ। यो दुईदेखि पाँच मिटरसम्म अग्लो हुने र मझौला खालको झाडीदार बहुवर्षीय सुगन्धित बिरुवा हो। यसलाई वनफाँडा, किर्ने काँडा, सुत्केरी काँडा पनि भनिन्छ। वर्षभरि नै फुल्ने वनमाराको फूल पहेँला, गुलाफी, सेता, बैजनी, राता गरी थरीथरीका हुन्छन्।

प्राध्यापक भरतबाबु श्रेष्ठ। तस्बिर : विद्या राई 

मध्य तथा दक्षिण अमेरिका उद्गमथलो मानिने काँडे वनमारा संसारभरि नै गमलामा राखेर सजावट वनस्पतिका रूपमा एक देशबाट अर्को देश तथा एक ठाउँबाट अर्को ठाउँमा फैलिएको हो। यो बीउ, काण्ड र जराबाट सजिलै र छिटै फैलिन्छ। यसको जरा, काण्ड र बीउ पानीमा बगेर तथा चराले खाएको बीउ बिस्ट्याएर अर्को ठाउँमा उम्रिने र फैलिने गर्छ।

घाँस, बालीनाली तथा रैथाने प्रजातिलाई विस्थापित गराउने काँडे वनमारालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले विश्वका १०० अति हानिकारक बाह्य मिचाहा प्रजातिमा सूचीकृत गरेको छ। यस्तै, जैविक विविधता र वातावरणीय सेवासम्बन्धी अन्तरसरकारी वैज्ञानिक मञ्च (आईपीबीईएस)ले अत्यधिक मात्रामा फैलिने संसारकै प्रमुख १० बाह्य मिचाहाको सूचीमा यसलाई दोस्रो स्थानमा राखेको छ।

आईपीबीईएसले सूचीकृत गरेकामध्ये नेपालमा पाइने मिचाहा प्रजाति (पहेँलो)।

प्राध्यापक श्रेष्ठ भन्छन्, “काँडे वनमारा जस्तै संसारभरि नै कुनै समयमा सजावटका रूपमा प्राथमिकता दिइएका वनस्पति अहिले मिचाहाका रूपमा धेरैतिर फैलिएका छन्।” काँडे वनमारा झन्डै ६० देशमा फैलिएको छ।

सजाउन भित्र्याइने विदेशी वनस्पतिले रैथाने वनस्पतिलाई हानि गरिरहेको लोपोन्मुख वनस्पति संरक्षणविद् रेशु बस्याल बताउँछिन्। भन्छिन्, “सजावट र सौन्दर्यका लागि भित्र्याइने विदेशी वनस्पतिले रैथानेलाई असर गरेको छ।”

सजावटका ६ मिचाहा प्रजाति

नेपालमा ३० वटा बाह्य मिचाहा वनस्पति पहिचान भएका छन्। यीमध्ये ६ प्रजाति कुनै न कुनै बेला सजावटकै बहानामा विदेशबाट भित्र्याइएका थिए। जसमा काँडे वनमारा, जलकुम्भी, फुले झार, सुगाप्वाँखे, कुम्भिका र जंगली सूर्यमुखी पर्छन्।

यीमध्ये काँडे वनमारा, जलकुम्भी, कुम्भिका र सुगाप्वाँखे दक्षिण अमेरिकाका रैथाने वनस्पति हुन्। फुले झार र जंगली सूर्यमुखी उत्तर तथा मध्य अमेरिकाका रैथाने हुन्। प्राध्यापक श्रेष्ठका अनुसार सजावटका लागि नेपाल भित्र्याइएका यी वनस्पति गमला र एक्वारियमबाट फुत्किएर प्राकृतिक वासस्थानमा फैलिएका हुन्। सजावटका लागि भित्र्याइएका विदेशी वनस्पतिले समयक्रमअनुसार गम्भीर खालको मिचाहा प्रजातिको रूप लिन्छन्। त्यस्ता वनस्पति सुरुमा आकर्षक फूल र सजाइने बोटका रूपमा रोपिन्छन्। ती बिस्तारै गमला र बगैँचाबाट फुत्किएर प्रकृतिमा फैलिन्छन्। जलवायु परिवर्तनको प्रभावले मिचाहा वनस्पतिले अनुकूलन हुने हावापानी पाउन थालेपछि फैलिन सजिलो भएको मिचाहा प्रजातिबारे अध्ययन गरेकी वनस्पति विभागकी वैज्ञानिक अधिकृत कल्पना शर्मा ढकाल बताउँछिन्।

जलकुम्भी पानीमा तैरिने झार हो। ५० सेन्टिमिटरसम्म अग्लो हुन्छ। मलिलो ठाउँमा यसको बिरुवा दुई हप्तामै दोब्बरसम्म बढ्न सक्छ। काण्डको टुक्रा र बीउबाट फैलिने यस झारका लागि ताल, पोखरी, खोला र अन्य सबै प्रकारका सिमसार क्षेत्र अनुकूल हुन्छ। नेपालको सिमसार क्षेत्रमा जलकुम्भी एउटा प्रमुख समस्या बनेको छ।

वस्तु तथा वनस्पतिको निर्बाध ओसारपसार, अन्तरदेशीय पर्यटन र जलवायु परिवर्तनका कारण विश्वभरि नै बाह्य मिचाहा प्रजातिको संख्या बढिरहेको छ।

जलकुम्भी दक्षिणी अमेरिकाको रैथाने प्रजातिमा पर्छ। बोट र फूल आकर्षक देखिने भएकाले करिब २०० वर्षअघि भारतमा आयात गरिएको थियो। नेपालमा यो बिरुवा भारतबाटै सजावटका लागि भित्र्याइएको अनुमान गरिन्छ। यस झारले पानीमा अक्सिजनको मात्रा घटाउने र ‘सेडिमेन्टेसन’ को दर बढाएर पानीका स्रोत सुकाउने गर्छ। फेवा तालसहितका ताल र सिमसारबाट बर्सेनि जलकुम्भी निकालेर फाल्ने गरिन्छ। तर, यतिले मात्रै नियन्त्रण सम्भव भएको छैन।

पानीमा तैरिने कुम्भिका र सुगाप्वाँखेको असर पनि जलकुम्भीको जस्तै छ। कुम्भिका सिमसार र धानखेतमा फैलिने मिचाहा वनस्पति हो। यो पानीमा तैरिने झार हो। यसको जरा प्वाँख जस्तो देखिन्छ। दक्षिण अमेरिकाको रैथाने यो वनस्पति नेपालमा निजी घर, होटेल र बगैँचामा सजाउन भित्रिएको मानिन्छ। यसलाई पानी बन्दा पनि भनिन्छ। बाक्लो गरी ताल र कुलोहरूमा फैलिँदा पानीको बहाव रोक्नुका साथै डुंगा चलाउन र माछा मार्न अवरोध सिर्जना गर्छ। खेतमा छिटो फैलिने हुँदा धानको उत्पादकत्व घटाउँछ। नुवाकोटको छहरे क्षेत्रको धानखेतीमा असर पारेको छ।

जलकुम्भीले ढाकेको चितवनको कुमाल ताल। तस्बिर : विद्या राई

सुगाप्वाँखे पानीमा हुने मिचाहा झार हो। दक्षिण अमेरिकाको रैथाने यो झार एक्वारियम र पोखरीहरूमा सजाउन अरू देशमा फैलिएको थियो। नेपालमा एक्वारियममा सजाउन भित्र्याइएको मानिन्छ। एक्वारियमको पानी फाल्ने क्रममा बाहिर फैलिएको हुन सक्ने प्राध्यापक श्रेष्ठ बताउँछन्। यो अहिले काठमाडौँ उपत्यकामा मात्र फैलिएको छ। “समयमै यसलाई नियन्त्रण नगरे अन्यत्र पनि छिटै फैलिन सक्छ,” श्रेष्ठ भन्छन्।

यस्तै, मध्य र उत्तर अमेरिकाको रैथाने फुले झार बगैँचामा रोप्न अन्य देशमा फैलिएको मानिन्छ। बाहिरी फूलहरू सेतो वा गुलाबी र बीचको फूलहरू पहेँला रङका हुन्छन्। जमिनमा बाक्लो गरी फैलिने झार भएकाले नजिकका रैथाने वनस्पतिलाई बिस्तारै विस्थापित गर्छ। चट्टानको कापमा उम्रिने भएकाले पहिरोको जोखिम बढाउँछ। धेरै मात्रामा ससाना बीउ उत्पादन गर्न सक्ने र हावाको मद्दतले टाढा टाढा पुग्ने हुन्छ। खाली जग्गामा निकै छिटो फैलिने हुँदा अरू बिरुवालाई विस्थापित गर्छ। मध्य अमेरिकाको रैथाने मानिने जंगली सूर्यमुखी पनि नेपालमा सौन्दर्यकै लागि भित्रिएको मानिन्छ। यो मकालु वरुण क्षेत्रमा धेरै फैलिएको छ।

सिंगापुर डेजी पनि सजावट वनस्पतिका रूपमा प्रयोग भइरहेको छ। यो दक्षिण अमेरिकाको रैथाने वनस्पति हो। काभ्रेको पाँचखालमा बायोइन्जिनियरिङका लागि यसलाई ल्याइएको थियो। अहिले भने कैलाली र मकवानपुरमा सजावटका लागि प्रयोग भइरहेको पाइएको प्राध्यापक श्रेष्ठ बताउँछन्।

सूचीकृत गर्ने तयारी

नेपालमा मिचाहा प्रजातिमा सूचीकृत नभइसकेका टिकटिके, एन्रेडेरा कोर्डिफोलिया, सोलिडागो क्यानाडेन्सिस जस्ता सजावटका वनस्पतिले कृषि, पर्यावरण र जैविक विविधतामा असर देखाइसकेका छन्। हाइपोएस्टिस जातिअन्तर्गतको टिकटिके झार अर्थात् पोल्का डटले इलामको खेतीकिसानीमा व्यापक असर पारेको १८ चैत २०७८ मा वनस्पतिविद् कमल मादेनले हिमालखबरमा लेखेका छन्।

पूर्वी अफ्रिकन देश माडागास्करको रैथाने प्रजातिमा पर्ने पोल्का डट दक्षिण-पूर्वी ब्राजिल, कोलम्बिया, कोस्टा रिका, ग्वाटेमाला, भारत, नेपाललगायत कम्तीमा १७ देशमा फैलिइसकेको छ।

१९ सेप्टेम्बर २०२४ मा नेसनल एकेडेमी साइन्स लेटर्स जर्नलमा प्रकाशित अध्ययनअनुसार पोल्का डटलाई भारतको उत्तराखण्डमा मिचाहा प्रजातिका रूपमा सूचीकृत गरिएको छ। डेढ दशकदेखि पोल्का डटमा अध्ययन गरिरहेका प्राध्यापक श्रेष्ठका अनुसार पोल्का डट नेपालका पूर्वी मध्यपहाडका खेतबारीमा फैलिएको छ। यद्यपि, यसलाई नेपालमा मिचाहा प्रजातिको सूचीमा राखिएको छैन। “हामीले विभिन्न ठाउँमा पुगेर प्रमाणहरू फेला पारेका छौँ, व्यवस्थित रूपमा विवरणहरू संकलन नगरिएकाले सूचीमा समावेश गरिएको छैन,” उनी भन्छन्। उनीलगायत अनुसन्धाताले विश्वव्यापी अध्ययनहरूको समीक्षा गरेर, नेपालको हावापानी सुहाउँदो छिमेकी देशहरूमा पाउने वनस्पतिसँग तुलना गरेर तथा स्थानीय प्रमाणहरू जुटाएर मिचाहा प्रजातिको पहिचान गर्ने गर्छन्।

सोलिडागो क्यानाडेन्सिस। तस्बिर : भरत श्रेष्ठको फेसबुक

यस्तै, अन्य देशमा मिचाहा वनस्पतिको रूप लिइसकेका एन्रेडेरा कोर्डिफोलियासोलिडागो क्यानाडेन्सिस पनि नेपालमा प्राकृतिक वासस्थानमा नै देखा परेका छन्। एन्रेडेरा कोर्डिफोलिया दक्षिण अमेरिका र सोलिडागो क्यानाडेन्सिस उत्तर अमेरिकी क्षेत्रमा उत्पत्ति भएका प्रजाति हुन्। एन्रेडेरा कोर्डिफोलिया काठमाडौँ, ललितपुर, काभ्रे र बर्दियामा फेला परेको छ। श्रेष्ठले एन्रेडेरा कोर्डिफोलिया काठमाडौँको पुतलीसडकमा बिजुलीको पोलमा फैलिइरहेको भेटेका छन्। बर्दियामा सन् १९९५ सालतिरै देखा परेको उनको टोलीको अध्ययनले देखाएको छ। “होटलमा कसैले सजाउनका लागि लिएर गयो, गमलाबाट फुत्किएर प्राकृतिक वासस्थानमा पुनरुत्पादन हुन थालिसकेको छ,” उनी भन्छन्।

यस्तै, सोलिडागो क्यानाडेन्सिस काठमाडौँमा मात्रै देखिएको छ। श्रेष्ठ भन्छन्, “फूलको गुच्छा (बुके) बनाउन धेरै प्रयोग भइरहेको छ, व्यापारिक प्रयोजनका लागि प्रयोग भइरहेको छ।”

असर गर्ने थाहा नपाएरै सजावटको उद्देश्यले भित्र्याइने विदेशी वनस्पति मिचाहाका रूपमा फैलिइरहेको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र वरिष्ठ अनुसन्धान अधिकृत सुनिता उलक बताउँछिन्। “सौन्दर्यका लागि भित्र्याइएका वनस्पति मिचाहाका रूपमा एकदमै फैलिएको छ,” उनी भन्छिन्। विभिन्न अध्ययनले बाह्य मिचाहा वनस्पति बढिरहेको देखाउँदै गर्दा सजावटजन्य मिचाहाको पहिचान दर बढ्दै गएको छ।

मिचाहाको रजगज

त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभागले मंसिर २०८२ मा प्रकाशन गरेको बाह्य मिचाहा प्रजातिबारेको अध्ययनअनुसार नेपालमा हालसम्म फूल फुल्ने बाह्य वनस्पति २२५ वटाभन्दा बढी भेटिएका छन्। जसमध्ये ३० प्रजाति मिचाहाका रूपमा फैलिएका छन्। तीमध्ये विश्वका अति हानिकारक मिचाहाका रूपमा पहिचान भएका ६ वनस्पति काँडे वनमारा (ल्यान्टेना क्यामेरा), लहरे वनमारा (माइकेनिया माइकरान्था), सेतो वनमारा (क्रोमोलिना ओडोराटा), जलकुम्भी (पोन्टिडेरिया क्र्यासिपस), सिंगापुर डेजी (स्फागनेटिकोला ट्राइलोबाटा) र इपिल इपिल (ल्युकेना ल्युकोसेफाला) वनस्पति नेपालमा बाह्य मिचाहाका रूपमा स्थापित भइसकेका छन्। यीमध्ये काँडे वनमारा र जलकुम्भी सजावट वनस्पतिका रूपमा नेपाल भित्र्याइएका हुन्।

नीलो गन्धे। तस्बिर : विद्या राई

बाह्य मिचाहा प्रजातिहरू जान-अन्जानमा भित्रिन्छन्। त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभागले पहिचान गरेका ३० मिचाहा प्रजातिमध्ये १९ प्रजाति अन्जानमै भित्रिएका हुन्। जसमा लहरे वनमारा, सेतो वनमारा, कालो वनमारा, नीलो गन्धे, जल जम्बु, वन सिलाम, पाती झार, गन्धे, काँडे लुँडे, थाकल, कालो कुरो, चित्लागे, कारौते घाँस, लज्जावती, चरी अमिलो, ठूलो टाप्रे, सानो टाप्रे, आलुपाते र भेडे कुरो पर्छन्।

यी वनस्पति माटो तथा कृषि उपजमा मिसिएर, कन्टेनर जस्ता ठूला ढुवानीका साधनबाट र हावापानी, जनावर, चराचुरुंगीको माध्यमबाट आएका हुन्छन्। बाँकी ११ प्रजाति सजावट, बायोइन्जिनियरिङ र घाँसे प्रयोजनका लागि जानीबुझीकनै ल्याइएका हुन्। उल्टा काँडा र बेसरम बायोइन्जिनियरिङका लागि ल्याइएका हुन्। बायोइन्जिनियरिङका लागि भित्र्याइएको सिंगापुर डेजी सजावट वनस्पतिका रूपमा प्रयोग भइरहेको छ।

यस्तै, थाङ्ने झार र इपिल इपिल घाँस प्रयोजनका लागि नेपाल भित्र्याइएका हुन्। अन्य देशले मिचाहा प्रजाति भनिसकेको इपिल इपिललाई सरकारले डालेघाँस र बायोइन्जिनियरिङ प्रयोजनका लागि प्रवर्द्धन गर्दै आएकाले मिचाहामा सूचीकृत नगरेको श्रेष्ठको दाबी छ। अनुसन्धाताहरूले सन् २०२४ मा इपिल इपिललाई मिचाहा प्रजातिमा समावेश गरेका थिए। इपिल इपिलले चीनमा समस्या बढाइरहेको छ। बस्तुभाउलाई डालेघाँसमा प्रयोग हुने यो वनस्पति नेपालमा पनि वनजंगलमा आफैँ पुनरुत्पादन हुँदै फैलिइरहेको छ। आईयूसीएनले अति हानिकारक बाह्य मिचाहा वनस्पतिको सूचीमा राखेको यसलाई नेपाल सरकारले हालसम्म मिचाहामा सूचीकरण गरेको छैन। यसको उद्गमथलो भने दक्षिण अमेरिका हो।

अन्रेडेरा कोर्डिफोलिया। तस्बिर स्रोत : विकिमिडिया कमन्स

मिचाहा वनस्पति प्रजातिले कृषि, घाँसे मैदान, सिमसार, पर्यावरण प्रणाली र जैविक विविधतामा असर पारेका छन्। ३० वटै मिचाहा प्रजाति उत्तिकै हानिकारक छैनन्। नेपालमा लहरे वनमारा, उल्टा काँडा, सेतो वनमारा, काँडे वनमारा र जलकुम्भी उच्च हानिकारकमा पर्छन्। यस्तै, कालो वनमारा, नीलो गन्धे, जल जम्बु, वन सिलाम र पाती झार मध्यम खालको हानिकारकमा पर्छन्। प्राध्यापक श्रेष्ठ भन्छन् “मिचाहामा अवगुण मात्रै हुँदैनन्, १० प्रतिशत जति फाइदा नै गराउँछ, तर ९० प्रतिशत बेफाइदा नै गर्छन्। मिचाहाले मुख्य गरी पर्यावरणमा असर पार्छ।”

वनस्पति विभागकी वैज्ञानिक अधिकृत ढकालका अनुसार आफ्नो प्राकृतिक भौगोलिक क्षेत्रबाट मानवीय वा अन्य माध्यमबाट नयाँ स्थानमा पुगेर फैलिएर स्थानीय प्रजाति, वातावरण तथा पर्यावरणीय प्रणालीलाई नकारात्मक असर पार्ने वनस्पतिलाई बाह्य मिचाहा वनस्पति भनिन्छ। उनी भन्छिन्, “रैथाने वनस्पतिलाई हुर्किन अनुकूल हावापानी, क्षेत्रफल, प्रकाश चाहिन्छ तर मिचाहा वनस्पति जस्तोसुकै वातावरणमा पनि सजिलै हुर्किन्छ, फैलिन्छ र तापमान भएको खुला ठाउँमा छिटो फैलिन्छ।” मिचाहा वनस्पतिहरू रैथाने वनस्पतिभन्दा सजिलै उम्रने, बीउमा लामो अवधिको उमारशक्ति हुने, प्रजनन र प्रसारण क्षमता अत्यधिक भएको, छिटो बढ्ने र फैलिने खालका हुन्छन्।

बाह्य मुलुकका रैथाने वनस्पति अन्य देशमा पुग्दा कृषि क्षेत्र, घाँसेमैदान, सिमसार, वन, पारिस्थितिकीय प्रणाली तथा जैविक विविधतामा नोक्सानी पुगेको छ। माटोको गुणस्तर बिगार्ने र पोषक तत्त्वको सन्तुलन घटाउने हुँदा कृषि उत्पादनमा गिरावट आई खाद्य असुरक्षा बढाएको छ।

वस्तु तथा वनस्पतिको निर्बाध ओसारपसार, अन्तरदेशीय पर्यटन र जलवायु परिवर्तनका कारण विश्वभरि नै बाह्य मिचाहा प्रजातिको संख्या बढिरहेको छ। पछिल्लो समय तीव्र बसाइँसराइका कारण मिचाहा प्रजाति छिटो फैलिइरहेको छ। विषम हावापानी तथा परिस्थितिमा पनि बाँच्न सक्ने हुन्छन्। चरिचरन तथा अन्य साधारण विधिबाट हटाउन कठिन हुने भएकाले रैथाने प्रजातिलाई विस्थापित गर्छन्। यिनले रैथाने पारिस्थितिकीय प्रणालीमा नकारात्मक असर पुर्‍याउँछ। वनस्पति विभागकी वैज्ञानिक अधिकृत ढकाल भन्छिन्, “विश्वव्यापी रूपमा जैविक विविधता ह्रास हुनाका विभिन्न कारणमध्ये बाह्य मिचाहा प्रजातिको फैलावट दोस्रो प्रमुख कारण भएको तथ्य विभिन्न अनुसन्धानले स्थापित गरेका छन्।”

बाह्य मुलुकका रैथाने वनस्पति अन्य देशमा पुग्दा कृषि क्षेत्र, घाँसेमैदान, सिमसार, वन, पारिस्थितिकीय प्रणाली तथा जैविक विविधतामा नोक्सानी पुगेको छ। माटोको गुणस्तर बिगार्ने र पोषक तत्त्वको सन्तुलन घटाउने हुँदा कृषि उत्पादनमा गिरावट आई खाद्य असुरक्षा बढाएको छ। जसले गर्दा मान्छे, पशुचौपाया र जीविकोपार्जनमा असर गरेको छ। विगत ५०० वर्षमा विश्वभर लोप भएका प्रजातिमध्ये करिब ५० प्रतिशत मिचाहा प्रजातिका कारण लोप भएको अनुमान गरिएको छ।

कानुनी प्रतिबद्धता, कार्यान्वयन फितलो

जैविक विविधता र वातावरणीय सेवासम्बन्धी अन्तरसरकारी वैज्ञानिक मञ्च (आईपीबीईएस)ले बाह्य मिचाहा प्रजाति र तिनीहरूको प्रभाव विश्वव्यापी रूपमा बढ्दै गएको र अझ बढ्दै जाने आकलन गरेको छ। मञ्चका अनुसार बाह्य मिचाहा प्रजातिहरूको प्रभावकारी व्यवस्थापनले मात्रै यसको नकारात्मक असर न्यूनीकरण गर्न सकिन्छ।

कुन्मिङ-मन्ट्रियल जैविक विविधता फ्रेमवर्कले सन् २०३० सम्म हासिल गर्नुपर्ने २३ वटा विश्व जैविक विविधता लक्ष्यमध्ये लक्ष्य नं. ६ मा बाह्य मिचाहा प्रजातिको प्रवेशलाई कम्तीमा ५० प्रतिशत कम गर्ने र यसका नकारात्मक प्रभावलाई उल्लेख्य घटाउने उल्लेख गरेको छ। सोहीअनुरूप नेपाल सरकारले १५ वर्षदेखि प्रक्रियामा रहेको बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजना चैत २०८१ मा स्वीकृत गरेको छ। तर, नेपालमा हरेक वर्षजसो नयाँ नयाँ मिचाहा वनस्पति रेकर्ड भइरहेको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रकी वरिष्ठ अनुसन्धान अधिकृत सुनिता उलक बताउँछिन्।

घोषणापत्र।

२६ र २७ मंसिर २०८२ मा मिचाहासम्बन्धी जनचेतना जगाउने उद्देश्यले प्रथम बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय सम्मेलनसमेत काठमाडौँमा आयोजना भयो। सम्मेलनको अवसरमा मिचाहाको रूप लिने सजावटका वनस्पति ल्याउँदा नै क्वारेन्टिनमा कडाइका साथ जोखिम अध्ययन गरेर मात्रै प्रवेश अनुमति दिनेलगायत १८ बुँदे घोषणापत्र जारी गरिएको थियो।

क्वारेन्टिनमा विदेशबाट आयातीत बिरुवालाई प्रवेश अनुमति दिनुअघि जोखिम मूल्यांकन हुनुपर्छ। यसका लागि हवाई तथा स्थलमार्ग हुँदै ल्याइएका वनस्पतिलाई क्वारेन्टिनमा राखेर जाँच गरिन्छ। मिचाहा हुन सक्ने जोखिम भएका वनस्पतिलाई ल्याउन दिइँदैन। क्वारेन्टिन जाँचपास गरिसकेपछि मात्रै भन्सार प्रक्रिया अघि बढ्छ। यो सबै लेखाजोखा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले गर्दै आएको छ।

केन्द्रको काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, झापाको काँकडभिट्टा, मोरङको विराटनगर, सुनसरीको भन्टाबारी, महोत्तरीको जलेश्वर, सर्लाहीको मलंगवा, पर्साको वीरगन्ज, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको टिमुरे, रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, बाँकेको नेपालगन्ज, मुस्ताङको लोमन्थाङ, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी नाकामा क्वारेन्टिन छन्।

तर, क्वारेन्टिन चेकजाँच नियमित र प्रभावकारी नहुँदा मिचाहा प्रजातिको संख्या बढिरहेको प्राध्यापक श्रेष्ठ बताउँछन्। “सरकारले जोखिम मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रोटोकललाई मात्रै कार्यान्वयन गर्ने हो भने पनि यस्ता मिचाहा प्रजातिहरू यति धेरै फैलिन पाउँदैनथे,” उनी भन्छन्, “अमेरिकामा जैविक सुरक्षाका हिसाबले क्वारेन्टिनलाई गृह मन्त्रालयको मातहतमा राखिएको हुन्छ, नेपालमा कृषि, वन तथा पर्यावरण मन्त्रालय मातहतमा राखिएको छ। जति कडाइका साथ काम हुनुपर्ने हो त्यो छैन।”

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटा भने उपलब्ध स्रोत, जनशक्तिले भ्याएसम्म जोखिम मूल्यांकन गरेर मात्रै बाह्य वनस्पति नेपाल भित्रिन दिने गरेको बताउँछन्। “नेपालमा हरेक वर्ष आठ हजार खालका वस्तु भित्रिन्छन्, सिधै माटोमा रोपिनेलाई स्वच्छता प्रमाणको सबै प्रक्रिया पूरा गरेर प्रवेश अनुमति दिन्छौँ,” उनी भन्छन्। खुला सिमाना भएकाले नियन्त्रणको चुनौती भने रहेको उनी बताउँछन्। “लुकिछिपी, चोरी गरेर, कन्टेनरबाट आउने कतिपय वस्तु चेकजाँचमा छुट्छन्, त्यसैले नेपाल भित्रिने सबै वस्तु क्वारेन्टिन प्रक्रियाबाट आउँदैनन्, प्रभावकारी बनाउन सबै सरोकारवालाको सहयोग चाहिन्छ,” सापकोटा भन्छन्।

गाेदावरी क्षेत्रमा फैलिएको काँडे वनमारा। तस्बिर : जीवन कार्की

प्रारम्भिक चरणमा देखा परेका मिचाहालाई तत्कालै नष्ट गरे फैलिनबाट रोक्न सकिन्छ। तर, प्रारम्भिक चरणमा बेवास्ता गरे व्यापक मात्रामा फैलिसकेपछि नियन्त्रण गर्न चुनौती हुने प्राध्यापक श्रेष्ठ बताउँछन्। जस्तै, चितवन राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा प्रारम्भिक चरणमा देखापरेको पातीझार अहिले बाक्लै फैलिएको छ। “फैलिन दिन भएन भनेर हामीले त्यतिबेलै भने पनि कसैले चासो देखाएन, अहिले घाँसे मैदानभरि फैलिएर वन्यजन्तुलाई आहारामा समस्या हुन थालेको छ,” उनी भन्छन्।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रकी वरिष्ठ अनुसन्धान अधिकृत उलक भने सरकारले मिचाहा वनस्पति नियन्त्रणको प्रयास गरिरहेको बताउँछिन्। डिभिजन वन र प्रदेश वन कार्यालयहरूमार्फत बर्सेनि गरिने वन व्यवस्थापन कार्यक्रममा मिचाहा वनस्पति हटाउने कार्यलाई निरन्तरता दिने गरेको तर पर्याप्त नभएको उनी स्विकार्छिन्। उनका अनुसार वन मन्त्रालय र संयुक्त राष्ट्रसंघले सहकार्य गरेर मिचाहा व्यवस्थापन परियोजना सञ्चालन गर्न लागेका छन्।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वनमा फैलिएको लहरे वनमारा। तस्बिर : विद्या राई

वन तथा भू-संरक्षण विभागकी सूचना अधिकारी सबनम पाठक मिचाहा वनस्पति व्यवस्थापनमा पर्याप्त बजेट र कार्यक्रमको अभाव रहेको बताउँछिन्। कतिपय क्षेत्रका मानिसले मिचाहा वनस्पतिलाई घाँसका रूपमा प्रयोग गरिरहेकाले पनि व्यवस्थापनमा सघाउ पुगिरहेको उनको भनाइ छ।

सरकार नै मिचाहा प्रवर्द्धनमा

जलकुम्भी विश्वव्यापी समस्या बनेको छ। नेपालमा भने नियन्त्रण र व्यवस्थापन गर्नुपर्ने सरकारले नै यसको प्रवर्द्धन गरेको उदाहरण छ। सरकारले जलकुम्भी रोप्ने कार्यक्रम नै गरेर मिचाहा वनस्पतिलाई संरक्षण गरेको घटना छन्। प्राकृतिक रूपमा पानी शुद्धीकरणका लागि जलकुम्भी उपयुक्त हुने भन्दै आर्थिक वर्ष २०७५/७६ मा बागमती प्रदेश सरकारले चितवनको भरतपुर महानगरपालिका-७ दीपज्योति टोलमा जलकुम्भी रोप्ने कार्यक्रम सञ्चालन गरेको थियो। भरतपुरमा सरसफाइ र हरियाली प्रवर्द्धन गर्न भन्दै सञ्चालित कार्यक्रमअन्तर्गत घरैका ससाना तलाउमा जलकुम्भी रोप्न स्थानीयलाई प्रोत्साहन गरिएको थियो। तत्कालीन प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले सरसफाइ र हरियाली प्रवर्द्धन कार्यक्रमको उद्घाटन गरेका थिए।

सरकारको यस्तो गतिविधिले मिचाहा वनस्पतिको प्रवर्द्धन भइरहेको प्राध्यापक श्रेष्ठ बताउँछन्। “भरतपुरकै पर्यटकीय क्षेत्र मानिने बीसहजारी तालमा जलकुम्भीले ढाकेर बर्सेनि रकम खर्चेर सफा गर्नुपरिरहेको हुन्छ, जलकुम्भीले उति नै मात्रामा सिमसारमा क्षति गरिरहेको छ, अर्कातिर सरकारले स्थानीयलाई रोप्न प्रेरित गरेको छ,” उनी भन्छन्।

यस्तै, सचेतनाको अभावका कारण अहिले पनि नर्सरीमा काँडे वनमारा र जलकुम्भी नि:शुल्क वितरण भइरहेको उनको भनाइ छ। यसरी नि:शुल्क वितरण गरिने वनस्पति झनै हानिकारक हुने उनी बताउँछन्। भन्छन्, “एकातिर आईयूसीएनले अति हानिकारक मिचाहा वनस्पति भनेको छ, अर्कातिर नर्सरीले सित्तैमा बाँडिरहँदा यसको असर झन् फैलिँदै जाने भयो।”

यो पनि पढ्नुहोस् : 

मिचाहा वनस्पतिबाट मल