१७ पुष २०८२
अ+
अ-

काठमाडौँ। राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविकअनुसार अर्थात् जेन-जी आन्दोलन पहिला भएको व्यवस्थालाई तालिकाअनुसार सम्बन्धित कार्यालयमा पठाइने भएको छ।

अब उप्रान्त सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिने आवेदकको राहदानी समयमै छपाइ गरी पूर्ववत् रूपमा पठाउने व्यवस्था मिलाइएको विभागका सूचना अधिकारी केशवराज पन्थीले जानकारी दिए। तत्काल राहदानी आवश्यक परी विभागमा आवेदन दिन परेमा आवेदकको मागअनुसार पर्याप्त भेट समय खुला गरिएकाले आवेदन दिँदा आफूले रोजेको समयमा विभागमा उपस्थित भई सेवा प्रवाहमा सघाउनका लागि सम्पूर्ण सेवाग्राहीप्रति विभागले अनुरोध गरेको छ।

जिल्ला/इलाका प्रशासन कार्यालयबाट कम्तीमा गत १५ मङ्सिरसम्म आवेदन दिने आवेदकको राहदानी तयार गरी पठाइसकिएको र त्यसपछि आवेदन दिने आवेदकको २५ पुससम्ममा पठाउने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

विभागले विदेशस्थित नेपाली नियोगबाट मङ्सिर मसान्तसम्म आवेदन दिने आवेदकको राहदानी वैयक्तिकरण गरी पठाइसकिएको र अन्य आवेदकको हकमा नियमित तालिकाअनुसार पठाउने व्यवस्था मिलाउनुका साथै यही महिनाको २५ गतेपछि साबिककै समय तालिकाअनुसार एक/दुई साताको अन्तरमा छपाइ गरी सम्बन्धित कार्यालयमा पठाइने व्यवस्था मिलाइएको छ।