काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको छ।

काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रमकाबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्।

साथै डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०२६ संस्थागततर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई प्रदान गरिएको छ। राष्ट्रिय शान्ति पुरस्कारको राशि एक लाख रुपैयाँको छ। अन्तर्राष्ट्रिय पुरस्कारअन्तर्गत प्रशंसापत्रसहित नेपालको संस्कृति झल्कने आकर्षक उपहार प्रदान गरिएको समितिले जनाएको छ।

पुरस्कार प्राप्त दासले चिकित्सा विज्ञान, सार्वजनिक स्वास्थ्य, स्वास्थ्य नीति तथा मानवीय सेवाका क्षेत्रमा दीर्घकालदेखि सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।

त्यस्तै पोखरेलले नेपालको नेत्रचिकित्सा क्षेत्रको विकास, आधुनिक आँखा उपचार सेवाको विस्तार तथा नेपाल नेत्रज्योति संघको स्थापना र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको समितिले जनाएको छ।