काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिएका छन्।
१३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस-२०८२ का अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले बिहीबार गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले राष्ट्रिय पहिचानको प्रवर्द्धन अभियानलाई सरकारको साथ रहने विश्वास व्यक्त गरे।
“राष्ट्रियताको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ, राष्ट्रिय झन्डा भन्नेबित्तिकै यसप्रतिको श्रद्धा अगाध झल्किन्छ। राष्ट्रिय एकताको प्रतिक राष्ट्रिय झन्डा हो। जसले सबै नेपालीलाई जोड्नसक्छ। हामी जो जहाँ छौँ, नेपाली हुनुको पहिचान जोगाउने कार्यमा सक्रिय भएर लागौँ‚” उनले भने।
मन्त्री खरेलले राष्ट्रिय पोसाकलाई सरकारी मान्यता दिने र उत्सवका रूपमा दिवस मनाउने सन्दर्भमा आफू अभियानको साथमा रहेको बताए। उनले भने‚ “नवजवान युवाहरूले बिहे, व्रतबन्ध, भोज र औपचारिक कार्यक्रम तथा भव्य र सभ्य समारोहमा दौरा, सुरुवाल, कोट, टोपी, साडी, चोलो लगाएर उपस्थित हुँदा राष्ट्रिय महत्त्व आफैँमा बढेको छ। विश्वभर नेपालीको पहिचानको परिचय दिइरहँदा शिरमाथि लगाएको ढाका टोपी‚ दौरा-सुरुवाल हो। नेपाल र नेपाली चिनाउने राष्ट्रिय पोसाक नै हो। त्यसैले यसको संरक्षणमा सबै लाग्नुपर्छ।”
प्रतिष्ठानका अध्यक्ष राजानन्द मण्डलले राष्ट्रिय झन्डा र राष्ट्रिय पोसाकको गरिमा र ओझ बढाउने कार्यमा सबै जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए। त्यस अवसरमा राष्ट्रिय हित प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।