काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

१८ पुष २०८२
फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी फुट्ला भनेर शंका गर्न नपर्ने बताएका छन्। केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि सानेपास्थित पार्टी मुख्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विधानअनुसार विशेष महाधिवेशन बोलाउँदैमा पार्टी नफुट्ने बताए।

“विधानअनुसार कुनै पनि कार्य गरेर जाँदै गर्दा पार्टी फुट्दैन, एकढिक्का रहन्छ। एकढिक्का रहने सन्दर्भमा कसैलाई आशंका छ भने त्यो नराख्नुभए हुन्छ। धेरै पार्टीका साथीहरूले आशंका व्यक्त गर्नुभएको छ, सबैलाई ढुक्क बनाउन चाहन्छु,” उनले भने।

महामन्त्रीद्वय शर्मा र गगन थापाले विशेष महाधिवेशन बोलाएपछि विवाद समाधान गर्न आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका थिए। शर्माले आफूहरूले विशेष महाधिवेशनबारे संस्थागत रूपमै कार्यसम्पादन समितिले निर्णय गरोस् भन्ने चाहेको पनि बताए।

अहिलेको परिस्थितिमा कांग्रेस महाधिवेशन गरेर, नेतृत्व र नीति टुंगो लगाएर निर्वाचनमा जानुपर्ने भएकाले आफूहरूले महाधिवेशन मिति तय गरेको पनि उनको भनाइ थियो।

महामन्त्रीद्वयले आगामी २७-२९ पुसमा विशेष महाधिवेशन बोलाउने निर्णय गरेका छन्।