कार्यवाहक प्रमुखको जिम्मेवारीमा आएपछि डंगोलबाट विभागीय प्रमुखसँग छलफल
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोलले महानगरपालिकाका असल अभ्यासलाई निरन्तरता दिँदै जनताले राखेका अपेक्षालाई मूल बाटो ठानेर काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिएकी छन्।
कार्यवाहक प्रमुखको जिम्मेवारी आएपछि आज (मंगलबार) पहिलोपटक विभागीय प्रमुखहरूको बैठक बोलाएर उनले भनिन्, “सुशासन, नागरिक अपेक्षा र असल तथा सफल अभ्यासको निरन्तरताका लागि हामी सबैको दृष्टि एकै ठाउँमा हुनुपर्छ। यसका लागि आन्तरिक तथा बाह्य सम्बन्ध समुधर बनाउँदै पारदर्शिता, इमानदारी र जनभावनाप्रति उत्तरदायी भएर, फराकिलो दृष्टिकोण राखेर काम गर्नुहोला।”

उनले नागरिकले महसुस गरेका सुविधा र सहजतामा ध्यान दिन आग्रह गरिन्। “समन्वय, सहकार्य र साझेदारीलाई सुदृढ बनाउनुपर्छ। पुँजीगत खर्च गर्ने क्षमता बढाउनुपर्छ। कार्यान्वयन गर्छौं भनेका योजना कार्यान्वयनमा आएकै हुनुपर्छ‚” उनले भनिन्।
उनले भोलिदेखि निरन्तर विभागीय तथा क्षेत्रगत उपलब्धिका विषयमा जानकारी लिने र नतिजा वृद्धि गर्ने एजेन्डामा छलफल गर्ने कार्यक्रम राखिन्। बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई‚ विभागीय प्रमुखहरूको उपस्थिति थियो।