काठमाडौँ। प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार र बैंकिङ कसुरका ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकजनालाई चन्द्रागिरि नगरपालिकाबाट र अर्कालाई कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरि नगरपालिका ७‚ हसनटार बस्ने नुवाकोट विदुर नगरपालिका ३ घर भएका ३८ वर्षीया पुण्यवती जोशीलाई आज (मंगलबार) पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए।
उनका अनुसार उनीमाथिको उच्च अदालत पाटन ललितपुरको १० वैशाख २०८० को फैसलाले उक्त मुद्दामा पाँच लाख रुपैयाँ जरिवाना २० हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने फैसला भएको थियो।
यस्तै उनलाई दुई दिन कैद सजाय ठहर भएपछि फरार हुँदै आएकामा आज (मंगलबार) टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरि नगरपालिका ७‚ हसनटारबाटै उनलाई पक्राउ गरेको हो।
यस्तै वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जर्जिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका ६ बस्ने काभ्रे महाभारत गाउँपालिका ६ घर भएका ५२ वर्षीय पूर्णबहादुर वाइबालाई पनि आजै प्रहरीले पक्राउ गरेको छ।
सूचना अधिकारी कार्कीले उनलाई पनि आजै काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ६ बाट पक्राउ गरेको बताए। पूर्णबहादुरले जर्जिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट ६ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा कार्यालयको टोलीले पक्राउ गरेको हो।
आजै जोशीलाई फैसला कार्यान्वयनकाल लागि अदालत पठाइएको र वाइबालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौँ पठाइएको पनि उनले बताए।