काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२१ माघ २०८२
अ+
अ-

काठमाडौं ।  फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थाअन्तर्गत नेपाली सेना बुधबारदेखि मैदानमा उत्रिएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार सेना आजैबाट देशभर परिचालित भएको हो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ सैनिक परिचालन गरिएका छन्। आवश्यकताका आधारमा नियमित तथा संयुक्त गस्ती सञ्चालन गरिनेछ भने संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाअनुसार सुरक्षा रणनीति बदलिनेछ।

उनका अनुसार सेना निर्वाचन अधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गर्दै तेस्रो घेरामा रहेर सुरक्षा ड्युटीमा खटिनेछ। “संवेदनशीलताको मूल्यांकनका आधारमा गस्ती हुन्छ,” बस्नेतले बताए।

सेना परिचालनका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमा स्वीकृति दिएका थिए। त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना निर्माण गर्दै तालिम र अभ्याससमेत पूरा गरेको थियो।

९ असोजमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले तयार पारेको एकीकृत निर्वाचन सुरक्षा योजना २०८२  कात्तिक ३०  मा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको हो।

निर्वाचन अवधिमा सेनाले हवाई गस्ती पनि गर्नेछ। सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र इटहरीमा हेलिकप्टर ‘स्टान्डबाई’ अवस्थामा राखिएको छ। विकट तथा अतिसंवेदनशील क्षेत्रमा हवाई निगरानीसँगै मतपेटिका र मतपत्र ढुवानीमा समेत हेलिकप्टर प्रयोग गरिनेछ।

आपतकालीन अवस्थामा सेनालाई तुरुन्तै परिचालन गर्न सकिने व्यवस्था मिलाइएको छ। सडक पहुँच नपुगेका क्षेत्रमा मतदान सामग्री ढुवानीदेखि मतगणनास्थलसम्म मतपेटिका पुर्‍याउने जिम्मेवारी पनि सेनाले लिनेछ।