काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहामा सेवा शुल्कबाट संकलित राजस्व रकम हिनामिना गरेको आरोपमा १० जनाविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
प्रादेशिक अस्पताल सिरहाका तत्कालीन कार्यालय प्रमुखहरू डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादव, तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह र तत्कालीन लेखा प्रमुख अशोक कुमार यादव, विल काउन्टरमा कार्यरत श्याम कुमार मण्डल, पुजा कुमारी यादव, सरस्वती कुमारी यादव, रोशन कुमार यादव, विल अजय कुमार मण्डल, तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको श्रीमती मुस्कान कुमारी मण्डलमाथि आयोगले आरोपपत्र दायर गरेको हो।
अस्पतालको बिलिङ्ग काउन्टरमार्फत संकलन हुनुपर्ने रकम लामो समयसम्म राजस्व खातामा दाखिला नगरी नगद दुरुपयोग गरिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालका ८ वटा बिल काउन्टरबाट संकलन गरिएको कुल ३ करोड ८७ लाख ६६ हजार ९७४ रुपैयाँ ८३ पैसामध्ये ३ करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ मात्र दाखिला भएको पाइएको थियो।
बाँकी ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसा दाखिला नगरेको र उक्त रकम महालेखापरीक्षकको प्रतिवेदनमा कैफियतमा उल्लेख भएपछि अख्तियारले यसमा छानबिन गरेको थियो।
आयोगका अनुसार बिलिङ्ग सफ्टवेयर र बैंक भौचरबीचको रकम नमिलेको अवस्थामा पनि तत्कालीन अस्पताल प्रमुख डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवले आवश्यक निगरानी नगरी पद तथा अधिकारको दुरुपयोग गरेका छन्।
साथै, प्रशासन प्रमुख, लेखा प्रमुख तथा बिल काउन्टरमा कार्यरत कर्मचारीहरूले आपसी मिलेमतोमा फरक–फरक रकम दाखिला नगरी हिनामिना गरेको ठहर गरिएको छ।
आरोपितहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुलीको मागदाबी गरिएको छ। यसैगरी, मृत्यु भइसकेका तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको हकमा कानुनी व्यवस्था बमोजिम उनका श्रीमती मुस्कान कुमारी मण्डलबाट बिगो रकम असुल उपर गर्न मागदाबी लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।