काठमाडौं । अमेरिकी युद्धपोततर्फ तीव्र गतिमा आएको इरानी ड्रोनलाई एफ–३५सी स्टेल्थ लडाकु विमानले आत्मरक्षाका लागि खसालेको जनाएको छ।
वासिङ्टन र तेहरानबीच तनावका कारण अमेरिका आफ्नो सैन्य उपस्थिति विस्तार गरिरहेको बताइएको छ।
प्रस्तावित वार्तामा मिस्र, ओमान, पाकिस्तान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सलाई समेत निमन्त्रणा गरिनेछ।
अरब सागर क्षेत्रमा तैनाथ अमेरिकी युद्धपोतलाई आक्रमण गर्ने उद्देश्यसहित तीव्र गतिमा नजिकिएको इरानी ड्रोनलाई अमेरिकाले खसालेको जनाएको छ। अमेरिकी सेनाका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’तर्फ तीव्र गतिमा आएको ड्रोनलाई सोही युद्धपोतबाट उडेको एफ–३५सी स्टेल्थ लडाकु विमानले युद्धपोत र त्यहाँ कार्यरत सैनिकहरूको सुरक्षाका लागि आत्मरक्षाको क्रममा खसालेको हो।
घटनाका बेला अमेरिकी युद्धपोत इरानी तटबाट करिब पाँच सय माइल टाढा रहेको बताइएको छ। ड्रोन आक्रमणकै उद्देश्यले आएको हो वा अन्य कुनै कारणले आइपुगेको हो भन्ने विषयमा अस्पष्टता रहेको जनाइएको छ। यद्यपि युद्धपोत नजिक आएपछि ड्रोन खसालिएको थियो। यस घटनामा अमेरिकी पक्षको कुनै उपकरणमा क्षति पुगेको छैन र कुनै सैनिक पनि घाइते नभएको जनाइएको छ।
यसैबीच वासिङ्टन र तेहरानबीच तनाव बढिरहेका बेला अमेरिका उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति विस्तार गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न सम्झौता नगरे सैन्य कारबाही गर्न सक्ने चेतावनी दिँदै आएका छन्। उनले यसअघि तेहरानमा सरकारविरुद्धका प्रदर्शन दमनका क्रममा हस्तक्षेप गर्न सकिने सम्भावनासमेत व्यक्त गरेका थिए।
ड्रोन खसालिएको घटनापछि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिका र इरानबीच यसै साता वार्ता तय भएको जानकारी दिएकी छिन्। उनले राष्ट्रपति ट्रम्प कूटनीतिक समाधानलाई प्राथमिकता दिने पक्षमा भए पनि आवश्यक परे सैन्य विकल्प प्रयोग गर्न सक्ने संकेत दिएको बताइन्।
यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले आफ्नो देशमाथि आक्रमण भए क्षेत्रीय युद्ध भड्किन सक्ने चेतावनी दिएका थिए। मंगलबारको ड्रोन घटनाबारे भने तेहरानले कुनै प्रतिक्रिया दिएको छैन।