काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

२२ माघ २०८२
अ+
अ-

काठमाडौं । निर्वाचन आयोगले बुधबारबाट मतदान केन्द्रमा पठाइने मतपेटिकाहरूको व्यवस्थापन गर्न सुरु गरेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार आयोगले बुधबारबाट गरेको हो।

यसैगरी बुधबारदेखि नै सबै जिल्ला निर्वाचन कार्यालयहरूले मतपेटिकाको व्यवस्थापन गर्न सुरु गरेका छन्। मतदान केन्द्र्रमा मतपेटिका कसरी पठाउने, कति संख्यामा पठाउने, कुन मितिमा पठाउने आदि विषयमा जिल्ला निर्वाचन कार्यालयहरूले बुधबारदेखि व्यवस्थापन गर्न सुरु गरेको न्यौपानले बताए।

‘काठमाडौं र ललितपुरका मतपेटिका निर्वाचन आयोगको कार्यालयमा थिए। ती मतपेटिका बुधबारदेखि ललितपुर र काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा पठाउन सुरु गरिएको छ’, न्यौपानेले भने, ‘काठमाडौं र ललितपुरबाहेक अन्य जिल्लाको हकमा भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जिल्लाभरि चाहिने मतपेटिका पहिल्यै पठाइसकिएको छ।’

उनका अनुसार एउटा मतदान केन्द्रमा समानुपातिक र प्रत्यक्ष गरी दुईवटा मतपेटिका राखिएको हुन्छ तर त्यही संख्यामा दुईवटा मतपेटिकका रिजर्भ राखिएको हुन्छ। आयोगका अनुसार काठमाडौं, झापा र रूपेन्देहीमा सबैभन्दा बढी मतपेटिका चाहिन्छ। ती जिल्लामा आठ सय १७ देखि आठ सय ३३ वटा मतदान केन्द्र रहेका छन्।

यसैगरी मनाङमा सबैभन्दा कम मतदान केन्द्र छन्। त्यहाँ ३४ वटा मात्र मतदान केन्द्र रहेका छन्। आयोगका अनुसार आयोगले फागुन १० देखि सबै मतदान केन्द्रमा मतदान अधिकृत खटाउन सुरु गर्ने छ। त्यसअघि मतदान अधिकृतलाई तालिम दिइने छ।

सहायक प्रवक्ता न्यौपानेका अनुसार बुधबारसम्म प्रत्यक्ष निर्वाचनतर्फ ६० लाख मतपत्र छापिसकिएको छ। प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र चाहिन्छ। समानुपातिकतर्फ भने सबै मतपत्र छापिसकिएको आयोगको भनाइ छ। आयोगका अनुसार समानुपातिकतर्फ दुई करोड आठ लाख मतपत्र चाहिन्छ। निर्वाचनमा अन्तिम मतदाताको संख्या एक करोड ८९ लाख तीन हजार ६ सय ८९ पुगेको छ।