काठमाडौँ। उच्च अदालत पाटनले बीपी कोइरालाका पुस्तक छापेको लिपि बुक्सलाई तत्कालका लागि पुस्तक बिक्री नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश खड्कबहादुर केसीको इजलासले प्रतिलिपि अधिकार नभएकाले बिक्री नगर्न आदेश गरेको हो।
यो आदेश अन्तिम भने होइन। अदालतले २५ माघ आइतबारका लागि पेशी तोक्दै दुवै पक्षलाई छलफलमासमेत बोलाएको छ। अदालतको आदेशसँगै अर्को निर्णय नभएसम्म पुस्तकको प्रचार, बिक्री वितरण गर्न पाइनेछैन। “दुवै पक्षको छलफलपछि निष्कर्षमा पुग्न उपयुक्त हुने भएकाले २५ माघ आइतबारका दिन अन्तरिम आदेशको पेसी तोकी दुवै पक्षलाई जानकारी दिनू‚” बुधबार जारी आदेशमा भनिएको छ, “उक्त अवधिसम्म कुनै पनि माध्यमबाट पुस्तकको प्रचारप्रसार, बिक्री-वितरण नगर्नू, नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।”
जगदम्बा प्रकाशनले लिपि बुक्सविरुद्ध प्रतिलिपि अधिकार उल्लंघन भएको भन्दै उच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो। जगदम्बाले बीपी कोइरालाका ‘जेल जर्नल’, “आत्म बृत्तान्त’, ‘फेरि सुन्दरीजल’ लगायत पाँचवटा पुस्तक छाप्दै आएको थियो।
ती पुस्तक छाप्न वरिष्ठ अधिवक्ता गणेशराज शर्माले २०५५ सालमा आफ्नो प्रतिलिपि अधिकार जगदम्बालाई दिएका थिए। तर, लिपि बुक्सले माघको पहिलो साता बीपीका ती सबै पुस्तक प्रकाशन गरेको थियो। लिपि बुक्सले बीपी मेमोरियल दृष्टले स्वीकृति दिएको भनेर छापेको दाबी गरेको छ। तर, जगदम्बाले प्रतिलिपि अधिकार आफूसँग भएकाले अरूले छाप्न नमिल्ने दाबीसहित अदालत पुगेको थियो।