२४ माघ २०८२
अ+
अ-

दोलखा।’स्विट्जरल्यान्ड अफ नेपाल को उपनामले परिचित जिरी दोलखा जिल्लाको प्रमुख पर्यटन गन्तव्य हो। हरियाली डाँडाकाँडा, खुला फाँट, परम्परागत बस्ती र चिसो हावापानीले भरिएको जिरी पर्यटकको आगमनको प्रतीक्षामा छ।

एक समय सगरमाथा आरोहणतर्फ जाने विदेशी पर्यटकहरूको प्रमुख प्रवेशद्वार मानिएको जिरीमा अहिले पर्यटक चहलपहल निकै कम देखिन्छ।

सडक सञ्जाल विस्तार भए पनि पर्याप्त प्रचार प्रसार, पूर्वाधार विकास र व्यवस्थित पर्यटन योजनाको अभावले जिरी ओझेलमा परेको स्थानीयको गुनासो छ।

जिरी आसपासका च्योर्दुङ डाँडा , हनुमन्ते डाँडा , जिरेश्वरी महादेव, शैलुङ डाँडा, कालिन्चोक भगवती, बिगु गुम्बा, तामाकोशी नदी क्षेत्र तथा रोल्वालिङ क्षेत्रजस्ता आकर्षक गन्तव्यहरू भने पर्यटनको ठूलो सम्भावना बोकेका छन्।

यी गन्तव्यलाई जिरीसँग जोडेर प्याकेजका रूपमा प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने पर्यटन व्यवसायीहरूको भनाइ छ ।

स्थानीय संस्कृति, कृषि जीवनशैली र प्राकृतिक दृश्यलाई संरक्षण गर्दै दीगो पर्यटन विकास गर्न सके जिरी फेरि पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ।