काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार जारी राख्ने देशहरूलाई लक्षित गर्दै अतिरिक्त भन्सार कर (ट्यारिफ) लगाउन सकिने चेतावनीसहित एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
शुक्रबार जारी आदेशमा करको ठोस दर तोकिएको छैन, तर उदाहरणका रूपमा २५ प्रतिशत उल्लेख गरिएको छ । आदेशअनुसार इरानबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वस्तु वा सेवा खरिद गर्ने कुनै पनि देशबाट अमेरिकामा आयात हुने सामानमा यो कर लागू हुन सक्ने बीबीसीले जनाएको छ ।
ट्रम्पले आदेशबारे प्रत्यक्ष टिप्पणी नगरे पनि एअर फोर्स वनबाट बोल्दै इरानले ‘परमाणु हतियार पाउनु हुँदैन’ भन्ने अडान दोहोर्याएका छन् । यो कदम ओमानमा अमेरिकी र इरानी अधिकारीबीच जारी वार्ताकै बीचमा आएको हो ।
ह्वाइट हाउसले उक्त आदेशले इरानसम्बन्धी ‘राष्ट्रिय आपतकालीन अवस्था’ पुनः पुष्टि गरेको जनाएको छ । आदेशमा इरानको परमाणु कार्यक्रम, आतंकवाद समर्थन, ब्यालेस्टिक मिसाइल विकास र क्षेत्रीय अस्थिरताको आरोप लगाइएको छ ।