प्रतिनिधिसभा निर्वाचन
बिरामी जाँच्न छाडेर मधेस प्रदेशका १२ चिकित्सक प्रतिनिधिसभा सदस्यको उम्मेदवार
डाक्टरी कर्म थाती राखेर महोत्तरी ४ मा जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्, डा. सुरेन्द्रकुमार यादव। उनी जानकी हेल्थ केयर अस्पतालका सञ्चालक पनि हुन्। ५४ वर्षीय यादव विशेषज्ञ चिकित्सक (एमडी) हुन्। यादवसँग मेडिकल अधिकृतका रूपमा वीर अस्पताल, मधेस विज्ञान प्रतिष्ठान जनकपुर र जानकी मेडिकल कलेज रमदैया धनुषामा काम गरेको अनुभव छ। यादव यसपालि मात्र प्रतिनिधिसभा चुनावमा उम्मेदवार भएका होइनन्। यादवले लगातार प्रतिस्पर्धा गरेको यो तेस्रो संसदीय चुनाव हो।
बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेका यादव अहिले संघीय समाजवादी पार्टीमा सक्रिय छन्। जसपाबाट उनी २०७४ सालको निर्वाचनमा महोत्तरी ४ बाट निर्वाचित भएका थिए भने २०७९ सालमा पराजित भएका थिए। २०७४ सालमा चुनाव जितेपछि उनी १८ साउन २०७५ मा स्वास्थ्य राज्यमन्त्रीसमेत बनेका थिए।
चिकित्सा क्षेत्रभन्दा बढी राजनीति र समाजसेवातिर रुचि बढेपछि यादवले प्रगतिशील मधेसी समाज गठन गरेका थिए।
यादवले मधेस आन्दोलनका बेला खाद्यान्न संकलन तथा वितरण अभियान चलाएका थिए। धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका गरिब एवं विपन्न परिवारलाई उनले त्यतिबेला राहत वितरण गरेका थिए। चिकित्सा क्षेत्रभन्दा बढी राजनीति र समाजसेवातिर रुचि बढेपछि यादवले प्रगतिशील मधेसी समाज गठन गरेका थिए। त्यसैबाट उनले मधेस आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गरेका थिए। भन्छन्, “अधिकार र पहिचानका लागि विगतमा सक्रिय थिएँ। अब मधेसको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा सक्रिय हुन्छु।”
४२ वर्षीय मण्डल करिब १० वर्षदेखि चिकित्सा पेसामा सक्रिय थिए।
यादव मात्र होइन, मधेस प्रदेशमा २१ फागुनको प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ मात्रै १२ जना चिकित्सक उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्। महोत्तरी २ मा उज्यालो नेपाल पार्टीबाट अर्का विशेषज्ञ चिकित्सक डा. राकेश मण्डल उम्मदेवार भएका छन्। ४२ वर्षीय मण्डल करिब १० वर्षदेखि चिकित्सा पेसामा सक्रिय थिए। तर, चुनावमा उत्रिएपछि उनले चिकित्सकीय काम केही समयका लागि थाती राखेका छन्। मण्डल स्नायु रोग विशेषज्ञ हुन्। भन्छन्, “महोत्तरीको स्वास्थ्य र शिक्षा सुधारका लागि म यसपालि उम्मेदवार बनेको हुँ। प्रतिनिधिसभा नेता–कार्यकर्ताको मात्र होइन, विशेषज्ञहरूको पनि थलो बन्नुपर्छ भन्ने ठानेर उम्मेदवार बनेको हुँ।”
सिरहा १ मा श्रम संस्कृति पार्टीबाट डा. जिवछ ठाकुर, सिरहा ३ मा कांग्रेसका सुभाषचन्द्र यादव, सिरहा ४ मा स्वतन्त्र उम्मेदवार डा. उमेशकुमार राम, धनुषा ३ मा उज्यालो नेपाल पार्टीका डा. प्रमोदकुमार साह प्रतिस्पर्धामा उत्रिएका छन्।
मण्डलसँग प्रतिस्पर्धामा उत्रिएकी छन्, प्रसूति रोग विशेषज्ञ डा. मीनाक्षी ठाकुर। उनी महोत्तरी २ मा जसपा नेपालकी उम्मेदवार हुन्। जसपा नेपालका संरक्षक महन्थ ठाकुरकी छोरी मीनाक्षी विगतमा राजनीतिमा खासै सक्रिय थिइनन्। तर, उनलाई यसपालि महन्थकै इच्छामा उम्मेदवार बनाइएको हो। त्यस क्षेत्रबाट यसअघि महन्थ निर्वाचित भएका थिए। यता, सिरहा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. शम्भुकुमार यादव, सर्लाही २ मा कांग्रेसका डा. सरोजकुमार, रौतहट २ मा कांग्रेसकै मोहमद फिरदोस आलम उम्मेदवार बनेका छन्। आलम रौतहटका कांग्रेस नेता आफताब आलमका छोरा हुन्।
महोत्तरी २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट डा. राजनारायण झा, महोत्तरी २ मै स्वतन्त्र उम्मेदवार डा. धनञ्जयकुमार हाथी र सर्लाही ४ मा नेपाली कम्युनिस्ट पार्टीबाट डा. रजनीश राय उम्मेदवार हुन्। डा. सज्जनकुमार ठाकुर भन्छन्, “प्रतिनिधिसभाको उम्मेदवार बनेर पढेका–बुझेका युवा, अझ चिकित्सक नै मधेसको राजनीतिमा आउनु सुखद पक्ष हो। अस्पताल बसेर बिरामी जाँच्दा केही बिरामी निको होलान्। तर, संसद्मा पुगेर राम्रो नीति बनाउन सक्ने हो भने देशभरिका बिरामीलाई फाइदा हुन्छ।”