काठमाडौँ। सरकारले मध्यावधि समीक्षामार्फत चालु आवको बजेटको आधार घटाएको छ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज (मंगलबार) मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँमा झारेका छन्।
१५ जेठमा संसद्मा बजेट प्रस्तुत गर्दा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका थिए। सुरुको बजेटको तुलनामा सरकारले आकार १४.०४ प्रतिशतले घटाएको छ।
चालु आवमा सुरुमा विनियोजित गरिएको बजेटको ८५.९६ प्रतिशत मात्रै खर्च हुने अवस्था देखिएको भन्दै मन्त्री खनालले बजेटको आकार घटाएका हुन्।
यस आवमा चालु खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख, पुँजीगत खर्चतर्फ दुई खर्ब ४३ अर्ब ३० करोड ३४ लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब १९ अर्ब चार करोड ३९ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ। ६ महिनासम्मको खर्च र राजस्व संकलनलाई आधार मानेर बजेटको आकार घटाइएको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ।