चितवन। पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा-मलेखु खण्ड कालोपत्र भएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो।
नागढुङ्गा-मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हालसम्म ४० प्रतिशत अर्थात कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र भएका छन्।
धादिङको बाँदरेमा कालोपत्र जारी छ भने फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखिएको छ। उक्त खण्डका छ वटा पुलमध्ये हुग्दी र चरौदीमा जमिनमाथिको काम भइरहेको छ।
निर्माण सामग्री अभाव नहोस् भन्नेमा आफूहरू रहेको उनले बताए। धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भएपनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने आशङ्का उनले व्यक्त गरे।
विश्व बैंकको ऋण सहयोग रूपैयाँ चार अर्ब ८० करोड ५९ लाख मा ३८ किलोमिटर लामो यो सडकखण्ड स्तरोन्नति थालिएको हो।