‘बंगलादेशमा जस्तै नेपालमा पनि सामाजिक सञ्जालमा पपुलर भएका व्यक्तिहरू थोरै सिटमा समेटिन्छन्’
झापा। नेकपा एमालेका अध्यक्ष केपी ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बन्न नसकेको जिकिर गरेका छन्।
झापाको भद्रपुर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेसम्म हेर्दा अझै पनि तोकिएको समयमा ढुक्कका साथ निर्वाचन हुनेमा संशय रहेको दाबी गरे।
चुनाव भएको खण्डमा आफ्नो पार्टीले भाग लिने पनि उनले बताए। “चुनाव हुने भयो भने हामी भाग लिन्छौँ। चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि‚” उनले भने।
ओलीले बंगलादेशमा जस्तै नेपालमा पनि सामाजिक सञ्जालमा पपुलर भएका व्यक्तिहरू थोरै सिटमा समेटिने बताए।
आसन्न निर्वाचनका लागि आफू सबै मतदाताको घर-घरमा पुग्ने प्रयास गर्ने उनले बताए। झापा ५ का उम्मेदवार ओली मतदाता भेटघाट तथा अन्य निर्वाचनकेन्द्रित कार्यक्रमका लागि अहिले झापामा छन्। आफू चुनावी अभियानका क्रममा सकेसम्म सबै ठाउँमा पुग्ने ओलीको भनाइ छ।
चुनावको वातावरणबारे सरकारले धेरै कुरा थाहा पाउनुपर्ने अध्यक्ष ओलीको भनाइ छ। “चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो। हामीले हेर्दा अझै बनेको जस्तो देखिँदैन‚” उनले भने।