काठमाडौं । गगन थापाले किर्तिपुरमा ‘ल्यापटप चलाएर महिनामा ३–४ लाख कमाउन सकिन्छ’ भन्ने आफ्नो पुरानो अभिव्यक्ति हावादारी नभई योजनाबद्ध लक्ष्य भएको दोहोर्याएका छन्।
उनले नेपाललाई डिजिटल हब बनाउने प्रतिबद्धता व्यक्त गर्दै सन् २०१९ को ‘डिजिटल नेपाल फ्रेम वर्क’ र २०२४–२०३४ लाई ‘आईटी डिकेड’ बनाउने अवधारणालाई स्मरण गरे।
थापाका अनुसार १० वर्षमा ३० खर्ब रुपैयाँ आईटी निर्यात र लाखौँ रोजगारी सिर्जना सम्भव छ। आगामी पाँच वर्षमा ४ खर्ब निर्यात, २ लाख प्रत्यक्ष रोजगारी, २०० भन्दा बढी कम्पनी विदेश विस्तार र केही आईटी कम्पनी सेयर बजारमा सूचीकृत हुने लक्ष्य उनले राखेका छन्।
उनले स्थिर कर नीति, एसटीइएम शिक्षा र एआईमा लगानी, आरएण्डडीमा कर छुट, गिग वर्करको कानुनी संरक्षण र हरित ऊर्जा प्रयोग गरी डिजिटल इकोसिस्टम निर्माणलाई प्राथमिकता दिएका छन्।