तनहुँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालले अब राति पनि काम गर्ने बताएका छन्। दमौलीमा सोमबार भएको सभामा उनले अबको १०/१५ वर्षमा मुलुकलाई समुन्नत बनाउन राति पनि काम गर्ने बताएका हुन्।
उनले भने‚ “विगतमा जेजस्तो कमजोरी देशमा भए त्यसको दोष हामी अरूलाई थोपरेर उम्किन चाहन्नौँ। जे जति राम्रा काम भए त्यसको श्रेयको ठुलो भाग दाबी पनि हामी नै गर्छौं। अनि अब राति पनि काम गर्नेछ नेपालको उद्घोष हामी नै गर्छौं। अबको दशक/डेढ दशकमा मुलुक समुन्नत बनाउने संकल्प र सपनालाई हामी पूरा गर्नेछौँ।”
उनले पुँजीगत बजेट बितेको ६ महिनामा १६ प्रतिशतभन्दा कम हुनु दु:खद अध्याय भएको भन्दै यस्तो स्थितिको अन्त्य गर्न कांग्रेसले आवश्यक कानुनी व्यवस्था‚ संरचनागत सुधार र तीन सिफ्टमा काम गर्ने पद्धति र संस्कृतिको विकास गर्ने पनि बताए।
उपसभापति शर्माले भने‚ “धनी देश बेलायतले राति पनि पुल र बाटो बनाउने काम गर्छ‚ गरिब देश नेपाल सूर्यअस्त नेपाल मस्त किन ? चौबीस घण्टामा तीनवटा आठ घण्टा हुन्छन्‚ अब हामीले भौतिक पूर्वाधार निर्माणको काम तीनवटै आठ घण्टाको उपयोग गरेर अघि बढाउनुपर्छ।”