काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

५ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई प्रहरीले सोमबार साँझ भक्तपुरस्थित उनकै निवासबाटै पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ।

यसअघि पनि पटक-पटक पक्राउ पर्दै छुट्दै आएका प्रसाईं सोमबार पक्राउ परेका हुन्। यसअघि उनी २३ माघमा काठमाडौँको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए। हाजिर जमानीमा उनी २५ माघमा छुटेका थिए। ५ माघमा पनि प्रसाईं पोखराबाट पक्राउ परेका थिए।

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन र सार्वजनिक शान्ति सुरक्षामा अनुसन्धान गर्न परिसरलाई पत्राचार गरेपछि प्रसाईंलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनीमाथि निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोप लगाइएको छ।