काठमाडौँ
००:००:००
६ फाल्गुन २०८२, बुधबार

६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। धादिङबाट तरकारीको खाली क्रेट बोकेर हेटौँडा जाँदै गरेको गाडीबाट प्रहरीले गाँजा बरामद गरेको छ।

प्रहरीले ललितपुर बागमती गाउँपालिका २‚ बगुवाको जंगल क्षेत्रबाट बुधबार बिहान १५३ किलो गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ना.३च ४०५ नम्बरको गाडीबाट गाँजा बरामद गरिएको हो। प्रहरी चौकी भट्टेडाँडाको टोलीले गाडी जाँच गरेको थियो।

मिश्रका अनुसार कान्ति लोकपथ हुँदै हेडौँडा जाँदै गरेको गाडीमा फल्स बटम बनाएर लैजाँदै गरिएको १५ पोकामा गाँजा बरामद भएको हो। भट्टेडाँडा चौकीको टोलीले बागमती गाउँपालिका ३‚ छपेलीमा गाडी रोकेर जाँच गर्न खोजेको थियो।

त्यसक्रममा चालक भागेर जंगलतर्फ फरार भएका थिए। यसपछि प्रहरी जंगल पुगेर घेरा हाली गाडी र चालकलाई नियन्त्रणमा लिएको थियो। यसक्रममा रूपन्देही बुटवल उपमहानगरपालिका ७ घर भई अहिले मकवानपुर हेटौँडा बस्दै आएका २८ वर्षीय चालक नगेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ। पक्राउ परेका चालकलाई हिरासतमा राखेर लागुऔषध मुद्दामा अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मिश्रले बताए।