काठमाडौँ
००:००:००
८ फाल्गुन २०८२, शुक्रबार

८ फाल्गुन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सिरहा। सिरहाको औरहीबाट प्रहरीले स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ।

औरही गाउँपालिका ५‚ औरही चोकमा गरिएको विशेष जाँचका क्रममा उक्त रकम बरामद भएको हो।

पक्राउ पर्नेमा सिरहाकै बरियारपट्टी गाउँपालिका ३‚ शिवनगरका २१ वर्षीय सञ्जितकुमार यादव छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार यादवलाई आज (शुक्रबार) नियन्त्रणमा लिइएको हो।

बरियारपट्टीबाट औरहीतर्फ मोटरसाइकलमा आउँदै गरेका यादवलाई शङ्का लागेर प्रहरी टोलीले खानतलासी गरेको थियो। त्यस क्रममा उनको साथबाट एक हजार दरका एक हजार ४०० थान नोट (कुल १४ लाख रुपैयाँ) फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद रकमको स्रोत खुलाउन माग गर्दा यादवले कुनै पनि वैध प्रमाण पेस गर्न सकेका थिएनन्। पक्राउ परेका यादवलाई थप कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।