काठमाडौँ
००:००:००
८ फाल्गुन २०८२, शुक्रबार

८ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल लेन र फुटपाथ विस्तारको काम लगभग सम्पन्न गरेको छ।

यसअघि सडकमै हरियो रेखा कोरेर छुट्याइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक भएको भनेर विरोध भएपछि चौडा फुटपाथसँगै साइकल लेन बनाइएको हो ।

तर साइक्लिस्टहरुले भने लेन प्रयोगमा जटिलता रहेको बताएका छन् । नेपाल साइक्लिङ संघका सचिव देवेन्द्र बस्न्यातले साइक्लिस्टहरुको दबाबपछि बल्ल लेन बनाउन लागिएको बताए । निर्माण भएपनि प्रयोगमा आउन नसकेको उनको भनाइ छ । उनले भने- साइक्लिङमा लागि यो लेन सजिलो छैन । साइकल लेनको इन्ट्री प्वाइन्टमै समस्या देखियो । कतिपय ठाउँमा कनेक्सन पनि छैन । कतिपय ठाउँमा दुर्घटनाको जोखिम छ । धेरै ठाउँ साँघुरो छ । धेरै कुरा सुधार गर्नु पर्नेछ ।

अर्का साइक्लिस्ट लक्ष्मण बानियाले विकसित देशमा आफूले साइकल कुदाउँ कुदाउँ लाग्ने आकर्षक साइकल लेन देखेको अनुभव सुनाउँदै पैदल यात्रु हिड्ने र साइकल चलाउने लेन प्रष्ट रुपमा छुट्याउनु पर्ने बताए । उनले भने- यहाँ साइकल लेन भनिए पनि खास लेन छैन । साइकल चलाउने हो कि मान्छे हिँड्ने हो फरक नै छैन । डिजाइनरले आफूलाई साइक्लिस्ट सोचेर डिजाइन गर्नुपर्थ्यो तर त्यस्तो भएको छैन । आफूलाई थाहा नभए जान्ने मान्छेसँग परामर्श लिनुपर्थ्यो ।

तीनकुने-माइतीघर सडक खण्डको साइकल लेनलाई लगभग १३ वर्षदेखि हेरिरहेका स्टोरी साइकलका सौरभ ढकाल भन्छन्- पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ । खाली इँटा मात्रै परिवर्तन गरिएको छ । ग्रेडिङ, क्वालिटी र सहजतामा पटक्कै काम भएको देखिँदैन । यो ठाउँमा नयाँ फुटपाथ बनाउने काम सुरु भएपछि हामीले महानगरलाई निवेदन पनि दिएका थियौं । साइकल लेनको पुन डिजाइन गर्नुपर्छ भनेका थियौ । प्रयोगकर्ता मैत्री बनाउनुपर्छ भनेका थियौं । साइकल चढ्ने मान्छे बढाउनुपर्नेमा यो लेनले त अझ घट्ने देखिएको छ । साढे तीन किलोमिटर पार गर्न झण्डै २० पल्ट ओर्लेर फेरि चढ्नुपर्छ । सरोकारवालासँग छलफल गरेर अझै पनि सुधार गर्ने मौका छ ।