काठमाडौँ। सहरी विकास मन्त्रालयअन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान गरेको छ । ६५ लाख खर्च गरेर यस्ता बेरियर राखिएको हो ।
गत २ साउनमा सम्झौता गरेर ६ ठाउँमा यस्ता बेरियर राखिएका हुन्। गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरीनजिक, पशुपतिभन्दा तल तिलगंगामा, मनोहरा र बागमतीको दोभानमा, यूएन पार्कमा र कर्मनाशा मिसिने ठाउँ बालकुमारीमा जडान गरिएको छ।
आयोजनाका उपनिर्देशक उद्धव नेपालका अनुसार ट्रास बेरियरले नदीमा तैरिने फोहोरहरु जस्तै प्लास्टिक, प्लास्टिकका बोत्तल, काठका टुक्रा, फोमलगायतका तैरिँदै बगेर आउने वस्तुलाई रोक्छ र एकै ठाउँबाट संकलन गर्न सजिलो हुन्छ । परीक्षणका रूपमा यसलाई सुरु गरिएको हो।
प्रारम्भिक रूपमा प्रभावकारी नै देखिएको उनले बताए । पानीको सतह घटबढ हुँदा बेरियर आफैँ तलमाथि हुन्छ। आगामी बर्खा सिजनमा यसले कसरी काम गर्छ त्यो हेरेर थप ठाउँ र नदीमा राख्नेबारे तय गरिने नेपालले बताए।
हेर्नुहोस् थप तस्बिर :


तस्बिर: नेपाल फोटो लाइब्रेरी