काठमाडौँ। नेपाली कांग्रेस बीपीका नेता कर्ण मल्लसहितलाई नेपाली कांग्रेसमै फर्किन आह्वान गरिएको छ।
तत्कालीन डडेलधुरा कांग्रेसका सभापतिसमेत रहेका मल्ललाई डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले आइतबार विज्ञप्तिमार्फत पार्टीकै काममा फर्किन आह्वान गरेका हुन्।
मल्लसहित उनले उपसभापति करुणाकर भट्ट, हरिप्रसाद भट्ट र भरत नेपालीलगायत सबै नेता तथा क्रियाशील सदस्यलाई कांग्रेसमा फर्किएर सक्रिय योगदान दिन आग्रह गरे।
यही २१ फागुनमा हुने निर्वाचनमा डडेल्धुराले सबै मतदातालाई सक्रिय रूपमा मतदानमा भाग लिन र पार्टीलाई समर्थन गर्न आह्वान गरिएको हो।
“नेपाली कांग्रेस डडेल्धुराको सातौँ जिल्ला अधिवेशनमा सहभागी हुन नसकेका तत्कालीन पार्टी सभापति कर्णबहादुर मल्ल, उपसभापति करुणाकर भट्ट तथा नेताद्वय हरिप्रसाद भट्ट र भरत नेपालीलगायत उक्त अधिवेशनमा सहभागी हुन नसकेका सम्पूर्ण नेता तथा क्रियाशील सदस्यहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयलाई समेत दृष्टिगत गर्दै पार्टीमा फर्केर पार्टीले प्रदान गर्ने जिम्मेवारीमा रही नेपाल कांग्रेस पार्टीमा योगदान गर्न तथा नेपाली कांग्रेस डडेल्धुराका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महर र नेपाली कांग्रेसलाई विजयी गराउन आ-आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्नका लागि नेपाली कांग्रेस डडेल्धुराको निर्णयबमोजिम हार्दिक आह्वान गर्दछौँ‚” सभापति साउदद्वारा जारी विज्ञप्तिमा आह्वान गरिएको छ।
जिल्ला सभापति साउदले प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महर र नेपाली कांग्रेसलाई विजयी गराउन ती सबै नेतालाई सक्रिय भूमिका खेल्न आग्रह पनि गरेका हुन्।
