काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१२ फाल्गुन २०८२
नेकपाका महासचिव ऋषि कट्टेल। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका नेता ऋषि कट्टेललाई थुनामुक्त गर्न आदेश गरेको छ।

न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले प्रहरी हिरासतमा रहेका कट्टेललाई छोड्न मंगलबार आदेश गरेको हो।

बदनियतपूर्वक थुनामा राख्न नहुने भन्दै सर्वोच्चका मुद्दा हेर्ने महाशाखा प्रमुखको रोहबरमा थुनामुक्त गर्न आदेश छ। कट्टेललाई निर्वाचन बहिष्कारका लागि अभियान चलाएको भन्दै ६ फागुनमा प्रहरीले पक्राउ गरेको थियो।

७५ वर्षीय उनलाई विभिन्न रोग लागेको र सरकारले झुटा मुद्दा लगाउने प्रपञ्चले पक्राउ गरी विनाकारण थुनेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो।

सर्वोच्चले संविधानको धारा १७ मा स्वतन्त्रताको हक‚ राजनीतिक दल खोल्ने स्वतन्त्रतासहितको व्याख्या गरेको छ। “प्रचलित कानुन र नियमको आधारमा रहेर आफ्नो काम-कारबाही सञ्चालन गर्ने भन्ने बेहोरा उल्लेख गरेको‚ कानुनी र संवैधानिक हकमा राज्यले बिना कानुनी आधार अंकुश लगाउन मिल्ने देखिँदैन। सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिकै आधारमा सार्वजनिक शान्तिमा खलल पुऱ्याउने कार्य भएको मान्न मिल्ने पनि देखिँदैन।”