काठमाडौँ
००:००:००
१४ फाल्गुन २०८२, बिहीबार

१४ फाल्गुन २०८२
निर्वाचन आयोगका सह-प्रवक्ता सीता पुन। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’ मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ।

आयोगले २१ फागुनमा हुने निर्वाचनको मत सर्वेक्षण गर्न नपाउने आचारसंहिताविपरीत मत सर्वेक्षणको लाइभ गरेको भन्दै ती अनलाइनलाई कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको आयोगका सह-प्रवक्ता सीता पुनले बताइन्।

आयोगको सहकार्यमा पत्रकार महिलाका लागि आयोजित ‘निर्वाचन समाचार र आचारसंहितासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा उनले भनिन्, “अन्य देशको तुलनामा नेपालको परिवेश फरक छ। मतदातालाई आफैँलाई जनप्रतिनिधि चुन्ने अधिकार दिनुपर्छ। मतदातलाई अनावश्यक प्रभाव पार्नबाट रोक्नुपर्छ।”

निर्वाचन आयोग ऐन २०७३ दफा २३ का अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गरे एक लाख रुपैयाँ जरिवाना र उम्मेदवारी रद्द हुनेछ। सह-प्रवक्ता पुनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताइन्।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर गत ४ माघदेखि निर्वाचन आचारसंहिता लागु गरेको छ। यही १८ फागुन राति १२ बजेदेखि सुरु हुने मौनअवधिका सञ्चार तथा सामाजिक सञ्जाल कुनै माध्यमबाट प्रचारमूलक सामग्री प्रकाशन/प्रसारण गर्न पाइने छैन। निर्वाचनका लागि चार हजार ३०० पर्यवेक्षक निर्वाचन क्षेत्रमा खटिरहेको आयोगले जनाएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले ‘निर्वाचनमा पत्रकार आचारसंहिता’ विषयक कार्यपत्र प्रस्तुत गर्दै निर्वाचनमा समाचार सामग्री तयार गर्दा पत्रकार आचारसंहिताको ध्यान दिनुपर्ने र गोपनीयताको सम्मान गरेर उच्च व्यावसायिक अभ्यासमा ध्यान दिनुपर्ने धारणा राखिन्।