डुम्रे। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ। तनहुँको व्यास नगरपालिका-१ मोहोरियाटारका किरियापुत्री बसेका ५८ वर्षीय सुब्बा पन्थले मतदान गरेका छन्।
पन्थले व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालय ‘ङ’ मतदान केन्द्रबाट मतदान गरेका हुन्। उनले आफ्ना ८३ वर्षीय बुबाको आज निधन भएको र दाहसंस्कारपश्चात् मतदानमा सहभागी भएको बताए। “देशमा सुशासन कायम गर्न र वर्तमान अवस्था परिवर्तनका लागि भएको निर्वाचनमा मेरो एक मतले देश बनाउन सहयोग पुग्छ भनेर मतदानमा सहभागी भएको हुँ। मेरो मत सदुपयोग हुनेछ भन्ने विश्वास लिएको छु”, उनले भने।