काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले लोकतन्त्र सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहने भएकाले मतदानमा उत्साहजनक सहभागिता जनाउन सबैलाई आग्रह गरेकी छन्।
उनले काठमाडौँको भद्रकाली प्राथमिक विद्यालय, खड्का भद्रकालीस्थित (ग) मतदान केन्द्रबाट मतदान गरेपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै मतदानमा उत्साहजनक सहभागिता जनाउन सबैलाई आग्रह गरेकी हुन्।
मन्त्री श्रेष्ठले लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन सबै मतदातालाई आग्रह गरिन्। “आजको ऐतिहासिक प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेर मैले मेरो नागरिक कर्तव्य पूरा गरेँ। तपाईँहरूले पनि आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुभएको छ भन्ने विश्वास लिएको छु”, उनले भनिन्।