प्रतिनिधिसभा निर्वाचन
पहिलोपटक मतदानमा सहभागी भएका जेन-जी परिस्थिति बदलिनेमा उत्साही
पोखरा। दोस्रोपटक निर्वाचनमा सहभागी भए कास्की क्षेत्र ३ का रविन देवकोटा। २३ वर्षीय रविनले यसअघि प्रतिनिधि र स्थानीय तह दुवै निर्वाचनमा मतदान गरेका थिए। तर, जुन आशा र अपेक्षा लिएर मत दिएका थिए त्यो पूरा नभएको उनको गुनासो थियो।
“जसलाई मत हालेर जितेर जानुभयो। उहाँलाई सदनमा एक्टिभ देखिनँ। हामीले भनेको विषय सदन उठाउनु भएन,” रविनले भने। उनको अपेक्षा थियो आफ्नो प्रतिनिधिले सदनमा युवाको पक्षमा आवाज उठाओस्। उसका लागि समयअनुकूलको नीति-नियम ल्याओस्। तर, उनले खोजेको केही भएन। बेरोजगारी,ढिलो आउने राष्ट्रिय परिचयपत्र र लाइसेन्सजस्ता विषयले पनि आफूलाई निराश बनाएको उनको भनाइ छ।
यसैले पनि उनले यसपटक नयाँ शक्तिलाई अवसर दिने सोच बनाए। तैपनि नयाँले काम गर्छन् भनेर ढुक्क नभएको उनी सुनाउँछन्।
“वेट एन्ड वाचमा छु। नयाँ पनि आफ्नो भिजन प्रस्ट छैन। एजेन्डा प्रस्ट भनेको पनि छैन। साइलेन्ट किलरजस्तो। आशाचाहिँ तर ढुक्क छैन,” रविनले भने। सानो-सानो कुराले युवालाई निराशा जगाउने विषयलाई समाधान गर्नुपर्ने उनको भनाइ छ।
देश नयाँ संरचना गइसकेपछि भएका प्रत्येक निर्वाचन र उपनिर्वाचनमा सहभागी भएका छन् कास्की निर्वाचन क्षेत्रका निराकार सिग्देल। उनी आफ्नो क्षेत्रको प्रतिनिधिसँग भने असन्तुष्ट छैनन्। अपेक्षाअनुसारै काम गरे उनले मत दिएर पठाएका प्रतिनिधिले। तर, गठबन्धनमा बनिरहने र भत्किरहने सरकारले आक्रोशित बनाएको थियो उनलाई।
जेन-जी आन्दोलनले सिर्जना गरेको विषम् परिस्थितिको यो निर्वाचनले स्थिरता ल्याउने झिनो आशा गरेका छन् उनले। “बहुमत नै आउँछ भन्ने आशा छैन तर, परिवर्तित सरकार आउँछ भन्ने आशा छ। देशले परिवर्तन खोजिरहेको छ। अब हुन्छ पनि होला,” उनले भने।
पहिलोपटक मत दिन मतदान केन्द्रमा भेटिए २६ वर्षीय लक्ष्मण कार्की। मतदाता नामवलीमा नाम भए पनि यसअघि निर्वाचनमा सहभागी हुने चासो नदिएको उनले सुनाए। यसपटक भने उनी सबेरै पोखरा १५ मा रहेको मतदानस्थलमा मतदानका लागि लाइनमा थिए। “जेन-जी आन्दोलनपछि केही आशा लागेर मत दिन आएको। युवाले काम गर्छन् भन्ने आशा छ,” लक्ष्मणले भने।
लक्ष्मणजस्तै पहिलोपटक मतदान दिन पुगेका थिए पोखरा ३३ का १९ वर्षीय किस्मत पौडेल। पहिलोपटक मत दिँदा रमाइलो अनुभव गरेको उनको भनाइ थियो। आफूले दिएको मत राम्रो ठाउँमा जाओस् भन्ने अपेक्षा रहेको उनले सुनाए।
“पहिलो भोट हो। राम्रो ठाउँमा जाओस्। योपटक भिजन हेरेर युवाको नेता कुरा सुन्ने नेता पाइएको छ। आफूले खोजेको जस्तो उम्मेदवार पाइएछ अब चुनावपछि के हुन्छ,” किस्मतको भनाइ थियो।
निर्वाचन क्षेत्र २ कास्की सृष्टि भण्डारी पहिलोपटक मत हाल्न पाउँदा खुसी देखिन्थिइन्। उनको अब बन्ने सरकारसँग आशा छ। “एकदम नै एक्साइटेड छु। अब रिजल्टले के देखाउँछ। आशा भने छ। पढाइका लागि विदेश जान नपरोस्। स्वास्थ्य बिमामा सुधार आउन पर्यो,” मतदान केन्द्रमा भेटिएकी २२ वर्षीया सृष्टिले भनिन्।
कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता छन्। अपराह्नसम्म जिल्लामा ६० हजार ९३१ मत खसेको छ।