काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनको मतदानपछि ‘चाँडै’ नवनिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न चाहेको बताएकी छन्।
चुनाव सकिएलगत्तै बिहीबार साँझ बीबीसी न्युज नेपालीसँगको अन्तर्वार्तामा उनले भनिन्‚ “हेरौँ कस्तो प्रकारको सरकार बन्छ‚ चाहे त्यो गठबन्धन सरकार होस् वा एकल दलको सरकार।”
उनले चाँडै सत्ता हस्तान्तरणको प्रयास भइरहेको बताइन्। उनले भनिन्‚ “नयाँ सरकारबाट युवाहरूको उच्च अपेक्षा भएकाले हामी छिटो सत्ता हस्तान्तरण गर्ने प्रयास गर्नेछौँ।”
कार्कीले चुनाव सफल रूपमा सम्पन्न भएकामा खुसी व्यक्त गरिन्।
गत २३ र २४ भदौको जेन-जी आन्दोलनपछि कार्की नेतृत्वको अन्तरिम सरकार बनेको हो। कार्की नेतृत्वको सरकारलाई निर्वाचन गर्ने ‘म्यान्डेट’ थियो। जेन-जी आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई सडकबाटै फ्यालेको थियो।