प्रतिनिधिसभा निर्वाचन
एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटमा र रास्वपाका वरिष्ठ नेता बालेनले सिनामंगलमा गरे मतदान
प्रधानमन्त्री तथा राजनीतिक दलका शीर्ष नेताहरूले मतदान गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नम्बर ५ स्थित धापासी निम्न माध्यमिक विद्यालय फैमालचुली केन्द्रमा पुगेर मतदान गरेकी हुन्।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटमा रहेको महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन्। ओली झापा क्षेत्र ५ मा उम्मेदवार छन्।

भक्तपुरको बालकोटस्थित केन्द्रबाट मतदान गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली। तस्बिर : ओलीको सचिवालय
त्यस्तै, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले चितवन ३ मा पर्ने भरतपुर महानगरपालिका १४ स्थित प्रहरी स्कुल केन्द्रमा मतदान गरेका छन्। सो क्षेत्रमा उनकी छोरी रेणु दाहाल नेकपाकी उम्मेदवार छिन्।

अर्का पूर्वप्रधानमन्त्री एवम् नेकपाका सहसंयोजक माधवकुमार नेपालले रौतहटमा मतदान गरेका छन्। रौतहट १ स्थित गौर नगरपालिका-२ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालयको मतदान केन्द्रमा उनले मतदान गरेका हुन्। उनी सोही क्षेत्रमा उम्मेदवार छन्।
पूर्वप्रधानमन्त्री एवम् नेकपाका नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका-९ रम्फोकको राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँ ३ मा पर्ने बौद्ध महांकालस्थित खानेपानी संस्थान परिसरको मतदान केन्द्रमा मतदान गरेका छन्। लामिछाने चितवन २ मा उम्मेदवार छन्। त्यस्तै, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले काठमाडौँ २ मा पर्ने सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रमा मतदान गरेका छन्। काठमाडौँ महानगरपालिकाका पूर्वमेयर शाह झापा ५ मा उम्मेदवार छन्।

पूर्वप्रधानमन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रमुख संरक्षक बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका-१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्र पुगेर मतदान गरेका छन्। गोरखा २ मा पर्ने सो क्षेत्रबाट भट्टराईले उम्मेदवारी दिए पनि पछि फिर्ता लिएका थिए।
यसैगरी, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँ ४ स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका छन्। थापाले यसअघि तीन पटक सोही निर्वाचन क्षेत्रमा चुनाव जितेका थिए। थापा यस पटक सर्लाही ४ मा उम्मेदवार छन्।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा मतदान गर्दै । तस्बिर : नेपाल फोटो लाइब्रेरी
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भरतपुर महानगरपालिका-१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्रमा मतदान गरेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले धरान उपमहानगरपालिका-१८ स्थित कार्मेल स्कुल मतदान केन्द्रमा मतदान गरेका छन्। धरान उपमहानगरको मेयरबाट संसदीय चुनावमा होमिएका साम्पाङ सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हुन्।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह-३ स्थित सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर ३ मा मतदान गरेका छन्। उनले ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विद्याश्रम मावि मतदान केन्द्रमा मतदान गरेका हुन्।
जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरीको महादेवा गाउँपालिका-२ को महादेवा मतदान केन्द्रमा मतदान गरेका छन्। उनी सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार हुन्।
प्रथम राष्ट्रपति रामवरण यादवले भने धनुषाको लक्ष्मीनिया गाउँपालिका-५ स्थित बीपी कोइराला माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।