काठमाडौँ। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले थुनामुक्त गर्न आदेश गरेको हो।
निर्वाचन सम्पन्न भइसकेको अवस्था छ। यस्तो अवस्थामा निवेदकलाई निरन्तर थुनामा राख्नुको औचित्य पनि समाप्त भइसकेको देखिन्छ।
थुनामा राख्नु संवैधानिक र कानुनी व्यवस्थाको मर्म र भावना प्रतिकूल एवं गैरकानुनी देखिएको अदालतको आदेशमा उल्लेख छ। “अदालतबाट पटक-पटक थुनामुक्त गर्ने गरी बन्दीप्रत्यक्षीकरणको आदेश जारी भए पनि पुनः सोही सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरिएको,” शुक्रबार जारी आदेशमा भनिएको छ, “थुनामै राख्ने उद्देश्यले अभिप्रेरित रहेको।”
प्रसाईंलाई अदालतका मुद्दा हेर्ने सह-रजिस्ट्रारको रोहबरमा निवेदकका कानुन व्यवसायीको जिम्मामा छाडिदिन भनिएको छ।