प्रतिनिधिसभा निर्वाचन
सुरक्षित क्षेत्र खोज्दै रुकुम पूर्व पुगेका प्रचण्डको पाँचौँ जित
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन्। उनी रुकुमबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएका थिए।
उनले रुकुम पूर्वमा नेकपा (एमाले)का लीलामणि गौतमलाई पराजित गरेका हुन्। दाहालले १० हजार २४० मत ल्याएका छन् भने गौतमले तीन हजार ४६२ मत मात्रै पाएका छन्।
मंसिर २०७९ मा भएको निर्वाचनमा गोरखा २ बाट निर्वाचित दाहाल निर्वाचनपछि बनेको सरकारमा प्रधानमन्त्री भएका थिए। त्यसबेला तत्कालीन माओवादी केन्द्र र नेकपा (एमाले)ले संयुक्त सरकार बनाएको थियो।
तर, तीन महिनापछि राष्ट्रपति निर्वाचनको समयमा दाहालले कित्ता परिवर्तन गरेर कांग्रेसको साथ लिएका थिए। एमाले भने सरकारबाट बाहिरिएको थियो। असार २०८१ मा कांग्रेस र एमालेले सात बुँदे सहमति गरेर सरकार बनाएपछि दाहाल अपदस्थ भएका थिए।
त्यसपछि संगठन सुदृढीकरणमा केन्द्रित भएका दाहालले गत मंसिरमा पार्टीको विशेष महाधिवेशनबाट अर्को महाधिवेशन नहुँदासम्मका लागि पार्टीमा पदाधिकारी नरहने व्यवस्था गरी आफू संयोजक भएका थिए। त्यसपछि उनले नेकपा (एकीकृत समाजवादी) सहित वामपन्थी पृष्ठभूमिका १८ वटा पार्टीलाई एकीकृत गरेर नेपाली कम्युनिस्ट पार्टी बनाएका थिए।

दशवर्षे सशस्त्र संघर्षपछि २०६३ सालमा माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको थियो। त्यसपछि देशमा दुई वटा संविधानसभा र दुई वटा प्रतिनिधिसभा निर्वाचन भए। दाहाल प्रत्येक निर्वाचनमा क्षेत्र परिवर्तन गरेर उम्मेदवार बन्दै आएका छन्।
२०७२ सालमा संविधान जारी हुँदा रुकुम जिल्ला विभाजन गरेर दुई जिल्ला बनाइयो। त्यसमध्ये रुकुम पूर्वमा २०७४ सालमा माओवादीकी कमला रोका र २०७९ सालमा माओवादी केन्द्रबाटै पूर्णबहादुर घर्ती निर्वाचित भएका थिए। त्यसअघि दुई वटा निर्वाचन क्षेत्र भएको रुकुममा पहिलो संविधानसभामा निर्वाचन क्षेत्र नं. १ बाट माओवादीकी जुनकुमारी रोका र क्षेत्र नं. २ बाट जनार्दन शर्मा निर्वाचित भएका थिए। दोस्रो संविधानसभा निर्वाचनमा रुकुम १ बाट गणेशमान पुन र रुकुम २ बाट शर्मा नै विजयी भएका थिए।
रुकुम पूर्वका तीन वटा गाउँपालिका पुथा उत्तरगंगा, सिस्ने र भूमे गाउँपालिका अध्यक्ष-उपाध्यक्ष र अधिकांश वडाध्यक्षसमेत २०७९ सालको स्थानीय तह निर्वाचनमा माओवादीले जितेको थियो।
पहिलो संविधानसभा निर्वाचनमा दाहाल काठमाडौँ १० र रोल्पा २ बाट उम्मेदवार बनेका थिए। ठूलो मतान्तरमा उनले दुवै क्षेत्र जिते। दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले मधेस र पहाड जोड्ने पार्टीको रणनीतिअनुसार अध्यक्ष दाहाल काठमाडौँ १० र सिरहा ५ बाट उम्मेदवार बनेका थिए। काठमाडौँ १० मा तेस्रो भएका दाहालले सिरहा ५ बाट झिनो मतान्तरले जित हासिल गरेका थिए।
संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा माओवादी र एमालेबीच गठबन्धन भएको थियो। वामपन्थी एकताबाट स्थायित्व र आर्थिक समृद्धि दिने भन्दै गठबन्धनलाई पार्टी एकतामा लैजाने घोषणा गरेपछि उनीहरूको पक्षमा माहोल बनेको थियो। त्यसबेला दाहालले गृहजिल्ला चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका थिए। त्यहाँ दाहालले करिब १० हजार मतान्तरले सहजै निर्वाचन जिते। दाहाल सो निर्वाचन क्षेत्रमा ४८ हजार २७६ मतका साथ विजयी भएका थिए। दाहालका निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए।
दाहालले २०७९ सालमा पुनः सोही क्षेत्रबाट निर्वाचन लड्ने अपेक्षा धेरैको थियो। निर्वाचनअघि दाहालले भरतपुरको शिवनगरमा नयाँ घरसमेत बनाएका थिए। तर, मनोनयनको ठीक अघि उनी उम्मेदवार दर्ता गर्न गोरखा २ मा पुगे। त्यहाँ उनले बाबुराम भट्टराईको सहयोगमा चुनाव जिते।
गोरखाबाट चुनाव जितेर प्रधानमन्त्री बनेका दाहाल यस पटक भने रुकुम पूर्व पुगेर निर्वाचनमा उम्मेदवार बनेका थिए।
यो पनि पढ्नुहोस् :