जनकपुरधाम। धनुषा १ मा मतगणनाको तयारी गरिएको छ। निर्वाचन आयोगले पत्र पठाएपछि मतगणना सुरु हुन लागेको हो।
आयोगका उपसचिव ऋषिराम भुसालले पठाएको पत्रमा मतगणनाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको निर्वाचन चिह्न घण्टीमा स्वस्तिक छाप लागेका मतपत्र फेला परेमा त्यस्ता मतपत्र पनि गणना गरी छुट्टै लगत राख्ने र गणना भएका मतपत्रबाहेक बाँकी मतपत्रलाई नियमानुसार गणना गरी निर्वाचन परिणाम प्रकाशन गर्ने बताइएको छ।
त्यसैगरी, आवश्यक सुरक्षा प्रबन्ध मिलाई यथाशीघ्र गणना सुरु गर्नसमेत निर्देशन दिइएको छ।
किशोरी साह कमलको नाम कालोसूचीमा परेपछि आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। तर, मतपत्रमा रास्वपाको चुनावचिह्नसमेत रहेका कारणले अन्योल बढेपछि क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयले आवश्यक निर्देशनको माग गरेको थियो।