काठमाडौं । देशभरका विभिन्न निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता लिएको छ। हालसम्म गणना भइरहेको २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अघि रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ।
विगतका निर्वाचनहरूमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले निरन्तर जित हासिल गर्दै आएका क्षेत्रमा समेत यस पटक रास्वपाले शुरुवाती अग्रता कायम गरेको देखिएको छ। यसले राजनीतिक समीकरणमा नयाँ परिवर्तनको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।
केही निर्वाचन क्षेत्रमा गए रातिदेखि नै मतगणना सुरु भइसकेको छ भने अन्य केही क्षेत्रमा बिहान ७ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतहरूले जनाएका छन्। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन अझै समय लाग्ने बताइएको छ।