काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

४७ जिल्लामा खस्यो देशभर खसेको ५८.०७ प्रतिशतभन्दा पनि कम मत

२२ फाल्गुन २०८२
अ+
अ-

बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा पहाडी जिल्लाहरूमा कम मत खसेको छ। देशभर ५८.०७ प्रतिशत मत खस्दा पहाडी जिल्लाहरूमा यसभन्दा पनि न्यून मत खसेको देखिएको छ। यसपालि कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेकामा एक करोड नौ लाख ७७ हजार ७११ मत मात्र खसेको निर्वाचन आयोगले जनाएको छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनभन्दा देशभर ६१.३७ प्रतिशत मत खसेको थियो भने यसपालि त्यसभन्दा ३.३१ प्रतिशत कम मत खसेको छ।

आयोगको तथ्यांकअनुसार १८ जिल्लामा ५० प्रतिशतभन्दा कम मत खसेको छ। यीमध्ये धनुषाबाहेक अन्य सबै पहाडी जिल्ला हुन्। ७७ जिल्लामध्ये ४७ जिल्लामा राष्ट्रिय औसतभन्दा कम अर्थात् देशभर खसेको ५८.०७ प्रतिशतभन्दा कम मतदान भएको छ।

पहाडी जिल्लाहरूमध्ये सबैभन्दा कम मत अछाम जिल्लामा खसेको छ। दुई निर्वाचन क्षेत्र रहेको अछाममा ३९.१८ प्रतिशत मात्रै मतदान भएको छ। कम मत खसेका जिल्लाहरूमा डोटी, खोटाङ, भोजपुर, बझाङ, रोल्पा, बैतडी, रोल्पा, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, डडेल्धुरा, अर्घाखाँची, पाँचथर, दैलेख, दोलखा छन्। त्यस्तै, बागलुङ, कालीकोट, प्युठान, गुल्मी, ताप्लेजुङ, गोरखा, तनहुँ, सल्यान, उदयपुर, बाजुरा, पर्वत, संखुवासभा, सिन्धुली, तेह्रथुम, दार्चुला, म्याग्दी, धनकुटा, लमजुङ, स्याङ्जा, रुकुम पूर्व, रौतहट, कैलाली, पाल्पा, सिन्धुपाल्चोक, सप्तरी, मुस्ताङ, इलाम, नुवाकोट, जुम्ला, धादिङ, जाजरकोट र सुर्खेतमा पनि न्यून मत खसेको छ।

सहरी क्षेत्रका जिल्ला र तराईका जिल्लाहरूमा भने राष्ट्रिय औसतभन्दा बढी मत खसेको छ। सबैभन्दा बढी भक्तपुरमा ७१.४६ प्रतिशत खसेको छ। राष्ट्रिय औसतभन्दा बढी मतदान भएका शीर्ष ३० जिल्लामा भक्तपुरसहित पर्सा, ललितपुर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), काठमाडौँ, डोल्पा, रुपन्देही, हुम्ला, बारा, मोरङ, चितवन, झापा, कपिलवस्तु, सुनसरी, बाँके, सिरहा, सर्लाही, मुगु, रसुवा, बर्दिया, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बर्दिया, काभ्रेपलान्चोक, महोत्तरी, मकवानपुर, रुकुम पश्चिम, कञ्चनपुर, दाङ, मनाङ र कास्की छन्। राष्ट्रिय औसतभन्दा बढी भएका हिमाली जिल्लामा डोल्पा, हुम्ला र मुगु छन्।