प्रतिनिधिसभा निर्वाचन
एमाले उपाध्यक्ष, महासचिव र कांग्रेस महामन्त्रीद्वय र सहमहामन्त्री पराजित, अध्यक्ष र सभापति ठूलो अन्तरले पछि
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको नतिजा आइरहँदा यसअघि संसद्मा पहिलो र दोस्रो रहेका नेपाली कांग्रेस र नेकपा (एमाले)का पदाधिकारी निकै पछि परेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगनकुमार थापा, राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टी अध्यक्ष सीके (चन्द्रकान्त) राउत मतगणनामा पछि परेका छन्।
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, कांग्रेसका महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल ठूलो मतान्तरसहित पराजित भइसकेका छन्। एमालेका उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी २ बाट झिनो मतान्तरले पराजित भएका छन्।
झापा ५ मा एमाले अध्यक्ष ओली करिब २६ हजार मतले पछि परेका छन्। बिहीबार राति मतगणना सुरु भएदेखि नै त्यहाँ अग्रता लिएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ठूलो मतान्तरसहित अग्रस्थानमा छन्। यो समाचार तयार पार्दासम्म शाहले ३४ हजार ८६३ मत ल्याएका छन्। ओलीले हालसम्म नौ हजार ६८ मत पाएका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा ओली ५२ हजार ३१९ मत ल्याएर विजयी भएका थिए। यसअघि भएका सात वटा निर्वाचनमध्ये ओलीले यस क्षेत्रबाट ६ पटक जितेका थिए।
सर्लाही ४ मा कांग्रेसका सभापति थापालाई रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले करिब ६ हजार मतले पछि पारेका छन्। हालसम्म सिंहले १४ हजार ४३४ मत ल्याउँदा थापाले आठ हजार ४६२ मत मात्रै ल्याएका छन्।
झापा ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन १५ हजार मतले पछि परेका छन्। यो निर्वाचन क्षेत्रमा रास्वपाका प्रकाश पाठकले २७ हजार १६३ मत ल्याउँदा लिङ्देनले १२ हजार १५२ मत मात्रै प्राप्त गरेका छन्। यस क्षेत्रमा २०७४ र २०७९ सालका प्रतिनिधिसभा चुनावमा लिङ्देन ठूलो मतान्तरले विजयी भएका थिए।
सप्तरी २ मा उम्मेदवार रहेका जनमत पार्टीका अध्यक्ष राउत तेस्रो स्थानमा छन्। जारी मतगणनामा रास्वपाका रामजी यादव सात हजार ९९७ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेशकुमार यादवले चार हजार २७५ मत ल्याएका छन्। राउतले भने हालसम्म तीन हजार २४५ मत मात्रै पाएका छन्। २०७९ सालको प्रतिनिधिसभा चुनावमा राउत यही क्षेत्रमा ३५ हजार ४४ मत ल्याएर विजयी भएका थिए।
सप्तरी ३ मा उम्मेदवार रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव जारी मतगणनामा तीन हजार मतले पछि परेका छन्। त्यहाँ रास्वपाका अमरकान्त चौधरीले ११ हजार २०९ मत पाएका छन् भने यादवको सात हजार ९७१ मत छ।
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही २ मा पराजित भएका छन्। पौडेललाई रास्वपाका २८ वर्षीय उम्मेदवार सुलभ खरेलले ४३ हजार ६८९ मतको अन्तरले पराजित गरेका हुन्। खरेलले ५६ हजार ५५० मत ल्याए भने पौडेलले १२ हजार ८६१ मत मात्रै पाएका छन्।
त्यसैगरी, कांग्रेसका महामन्त्री गुरुराज घिमिरे मोरङ ४ मा २८ हजार १५ मतान्तरले पराजित भएका छन्। उनलाई रास्वपाका सन्तोष राजवंशीले पराजित गरेका हुन्। राजवंशीले ४० हजार ८३३ मत पाएका छन् भने घिमिरेले १२ हजार ८१८ मत ल्याएका छन्।
लमजुङमा उम्मेदवार रहेका एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ करिब १४ हजार मतान्तरले पछि परेका छन्। रास्वपाका धर्मराज केसी २९ हजार ३५९ मत ल्याएर अग्रस्थानमा छन्। १५ हजार १६० मतसहित कांग्रेसका गमप्रसाद गुरुङ दोस्रो स्थानमा छन् भने एमालेका गुरुङले हालसम्म १५ हजार १०० मत ल्याएका छन्। यो निर्वाचन क्षेत्रमा पृथ्वी सुब्बाले यसअघिका दुई वटा निर्वाचन जितेका थिए। २०७९ सालको प्रतिनिधिसभा चुनावमा उनले कांग्रेस, माओवादी केन्द्रसहितको पाँचदलीय गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई पराजित गरेका थिए।
एमालेका अर्का उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी २ मा ५६१ मतान्तरले पराजित भएका छन्। रास्वपाका गोविन्द पन्थी १६ हजार ९६७ मत ल्याएर विजयी हुँदा विष्टले १६ हजार ४०६ मत पाए। विष्ट यो निर्वाचन क्षेत्रमा २०७० सालयताका आमचुनावमा विजयी हुँदै आएका थिए।
एमालेका महासचिव शंकर पोखरेल दाङ २ मा ठूलो मतान्तरले पछाडि छन्। हालसम्मको गणनाअनुसार रास्वपाका विपिनकुमार आचार्य ३४ हजार १९ मतका साथ अग्रस्थानमा छन् भने पोखरेलले १२ हजार ४३२ मत पाएका छन्।
त्यसैगरी, कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर बारा ३ मा पराजित भएका छन्। उनी रास्वपाका अरबिन्द साहसँग ३० हजार मतान्तरले पराजित भएका हुन्। साहले ४० हजार ६९७ मत ल्याएका छन्।
कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबरा पनि पराजित भएका छन्। उनलाई ललितपुर १ मा रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनले पराजित गरेका हुन्।
जबरा २०७९ सालको चुनावमा सोही निर्वाचन क्षेत्रमा विजयी भएका थिए।
त्यसैगरी, एमालेका सचिव भानुभक्त ढकाल तेह्रथुममा पराजित भएका छन्। उनलाई कांग्रेसका सन्तोष सुब्बाले पराजित गरेका हुन्। कांग्रेसका सहमहामन्त्रीहरू कर्णबहादुर बुढा डोल्पा र योगेन्द्र चौधरी दाङ १ मा जारी मतगणनामा पछि परेका छन्।
एमालेका उपमहासचिवद्वय लेखराज भट्ट र रघुवीर महासेठ पनि मतमा निकै पछाडि छन्। कैलाली ४ मा भट्ट र धनुषा ४ मा महासेठ तेस्रो स्थानमा छन्। एमालेका सचिवहरू महेश बस्नेत र राजन भट्टराई पराजित भइसकेका छन्। शेरधन राई पनि प्रतिस्पर्धामा निकै पछि परेका छन्।