काठमाडौँ। अछाम २ बाट नेपाली कम्युनिस्ट पार्टी(नेकपा) भीमबहादुर रावल पराजित भएका छन्।
रावल नेपाली कांग्रेसका भीमकुमार स्वारसँग ५२६ मतान्तरले पराजित भए। स्वारले १० हजार ७५९ मत प्राप्त गरेका छन्। रावलले १० हजार २३३ मत प्राप्त गरे। नेकपा (एमाले)का पूर्वउपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रावल यस क्षेत्रबाट तीन पटक विजयी भएका थिए।
उनले २०५१ सालको प्रतिनिधिसभा, २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट जितेका थिए। यसअघिका तीन वटै निर्वाचन रावलले नेकपा (एमाले)को उम्मेदवार बनेर जितेका थिए। २०५१ सालपछि मनमोहन अधिकारीको नेतृत्वमा बनेको पहिलो कम्युनिस्ट सरकारमा रावल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका थिए। २०५५ साःमा उनले सोही मन्त्रालयको जिम्मेवारी पाएका थिए।
२०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा रावल गृहमन्त्री रहेका थिए। २०५४ सालमा भएको एमालेको छैटौँ महाधिवेशनबाट एमालेको केन्द्रीय सदस्य बनेका रावल नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए।
नेकपा विभाजनको समयमा माधवकुमार नेपालतर्फ लागेका रावल संस्थापन पक्षसँग १० बुँदे सहमति गर्दै एमालेमै रहेका थिए। मंसिर २०७८ मा चितवनको सौराहामा भएको एमालेको दशौँ महाधिवेशनमा रावलले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। रावलले पार्टीले लिने नीतिहरूको आलोचन गर्दै आएका थिए।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उनलाई टिकट दिएन। भाटभटेनी स्टोरका मालिक मीनबहादुर गुरुङको सहयोगमा पार्टीको केन्द्रीय कार्यालय बनाउने एमालेको निर्णयको आलोचना गरेपछि रावललाई एमालेले संगठित सदस्यबाट बर्खास्त गरेको थियो। उनले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए। सो समूह गत कात्तिकमा नेकपामा विलय भएको थियो।