जनकपुर। सर्लाहीका चारवटा निर्वाचन क्षेत्रमध्ये दुईमा रास्वपाले जित हासिल गरेको छ। बाँकी दुई स्थानमा पनि अग्रता कायम गरेको छ।
सर्लाही १ बाट रास्वपाकी नीतिमा भण्डारी कार्की निर्वाचित भएकी छन्। उनी ३६ हजार ३१० मतान्तरले विजयी भइन्। भण्डारीले ४४ हजार १८१ मत प्राप्त गरेको निर्वाचन अधिकृत टीकाबहादुर थापाले बताए।
सर्लाही २ मा पनि रास्वपाका रविन महतो ४२ हजार ५१२ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका महिन्द्र राय यादवले आठ हजार ५२३ मत पाए। यस क्षेत्रमा एक लाख २५ हजार ३११ कुल मतदातामध्ये ७७ हजार ७८९ मत खसेकामा ७२ हजार ३८१ मत सदर भएको छ।
सर्लाही ३ मा रास्वपाका नरेन्द्र साह कलवारको जित सुनिश्चित देखिएको छ। उनले गणना गर्न बाँकी मतभन्दा बढी अग्रता बनाउँदै जित सुनिश्चित गरेका हुन्। पछिल्लो मतपरिणामअनुसार साहले ३३ हजार ३३३ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी पूर्वगृहमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठले १० हजार ७२६ मत प्राप्त गरेका छन्।
सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह विजयउन्मुख भएका छन्। उनले नेपाली कांग्रेसका गगनकुमार थापालाई आठ हजार ३८४ मतले पछि पारेका छन्। पछिल्लो मतपरिणामअनुसार सिंहले २१ हजार ३७७ मत प्राप्त गर्दा थापाले १२ हजार ९९३ मत प्राप्त गरेका छन्। नेकपा एमालेका अमनिशकुमार यादवले पाँच हजार ३३३ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्।