प्रतिनिधिसभा निर्वाचन
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नरेश भण्डारी तीन हजार १८१ मतान्तरले पराजित
काठमाडौँ। जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन्। उनले १४ हजार ८१६ मत प्राप्त गरे।
उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नरेश भण्डारीलाई तीन हजार १८१ मतान्तरले पराजित गरे। भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरे।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका दीपबहादुर शाहीले सात हजार १४३ मत प्राप्त गरे। नेकपा (एमाले)का शान्तिलाल महतले चार हजार ५१८ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विनीता कठायतले ४२१ मतमै चित्त बुझाइन्।
यसैगरी, नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावतले ४००, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले ११३ मत प्राप्त गरे।
कुल ७१ हजार ७३९ मतदाता रहेको जुम्लामा ४० हजार ८७८ मत खसेको थियो। बदर मत एक हजार ७०० छ।
को हुन् राप्रपाबाट विजयी ज्ञानबहादुर शाही?
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य शाही जुम्लाबाट दोस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। शाही मंसिर २०७९ मा भएको निर्वाचनमा पहिलो पटक उम्मेदवार भएका थिए। त्यसबेला उनले १० हजार ८६० मतान्तरले तत्कालीन नेकपा (माओवादी केन्द्र)की उम्मेदवार गोमा गौतमलाई पराजित गरेका थिए।
उक्त निर्वाचनमा शाहीले २२ हजार ८१९ मत ल्याएर जितेका थिए भने गौतमले ११ हजार ९५९ मतमै चित्त बुझाउन परेको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा समेत रहेका शाहीले यसअघिको संसद्मा प्रखर वक्ताको छवि बनाएका थिए।
भ्रष्टाचारविरोधी अभियन्ताको छवि बनाएर सामाजिक सञ्जालमा छाएका शाही २०७९ सालको निर्वाचनअघि राप्रपामा प्रवेश गरेर निर्वाचनमा गएका थिए।
अराजक र आक्रामक अभिव्यक्तिका कारण उनी पटक पटक प्रहरी हिरासतमा पुगेका थिए। कोभिड-१९ महामारी फैलिएका बेला राहत बाँड्न निस्किएका उनलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसअघि १८ वैशाख २०७६ मा सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा सञ्चारकर्मी सहभागी नहुँदा उनीहरूलाई अपशब्दमार्फत गाली गरेपछि शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि शाही चर्चामा आएका थिए।
राप्रपा प्रवेश गर्नुअघि उनी नेपालमा राजतन्त्र आवश्यक नरहेको भन्दै विभिन्न मञ्चमा पुगेर भाषण गरिरहेका हुन्थे। तर, निर्वाचनको १० महिनाअघि राप्रपा प्रवेश गरेर उनी प्रतिनिधिसभा उम्मेदवारको टिकट पाउन सफल भएका थिए।
जुम्लामा जन्मेहुर्केका शाहीले विद्यालय शिक्षा जुम्लामै पूरा गरेर काठमाडौँको त्रिचन्द्र कलेजबाट आईएस्सी अध्ययन गरेका थिए। त्यसपछि सीए (चार्टर्ड एकाउन्ट) पढ्न भारतको नयाँ दिल्ली पुगेका शाही आफ्नो अध्ययन पूरा नगरी स्वदेश फर्किए। भारतीयहरूले नेपालीलाई गर्ने गरेको हेपाहा व्यवहार देखेर अध्ययन पूरा नगरी स्वदेश फर्किएको उनले सार्वजनिक मञ्चहरूमा बताउने गरेका थिए।