प्रतिनिधिसभा निर्वाचन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। यो उनको दोस्रो संसद् यात्रा हो।
नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहाललाई ३८ हजार ६६२ मतान्तरले हराउँदै गौतम सांसद बनेकी हुन्। सोविताले ५९ हजार २७७ मत पाइन् भने रेणुले २० हजार ६१५ मत पाइन्।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोविताले काठमाडौँ २ बाट जितेकी थिइन्। उनले १५ हजार २२९ मतसहित जित हासिल गरेकी थिइन्। त्यसबेला निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का मणिराम फुयालले ११ हजार ५५५ मत पाएका थिए।
यस पटक भने रास्वपाले उनलाई चितवन ३ पठाएको थियो। कानुनमा स्नातकोत्तर गौतम अघिल्लो प्रतिनिधिसभामा सक्रिय सांसदका रूपमा थिइन्। उनले विभिन्न समसामयिक विषयमा संसद्मा बोल्ने गरेकी थिइन्।
चितवन ३ मा गौतम र दाहाल सशक्त उम्मेदवारका रूपमा प्रतिस्पर्धामा थिए। २०६४ सालको पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् बनेकी रेणु २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग काठमाडौँ १ मा पराजित भएकी थिइन्।
दाहाल २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट भरतपुर महानगरपालिकाको प्रमुखमा विजयी भएकी थिइन्। उनले ४३ हजार १२७ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का देवी ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए।
भरतपुरको प्रमुखका रूपमा चर्चामा रहेकी उनले कार्यकाल पूरा नहुँदै राजीनामा दिएर प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएकी थिइन्।