सुर्खेत। डोल्पामा फर्जी मत खसेको भन्दै स्थगन भएको मतगणना सुरु भएको छ। काइके गाउँपालिका वडा नम्बर ४ र ५ को मतगणनाका क्रममा मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभएको अर्धकट्टीसहितको पाँच वटा मतपत्र भेटिएपछि विवाद सुरु भएको थियो।
यस्तै, सात वटा मतपत्रका अर्धकट्टी मात्रै भेटिएपछि मतगणना स्थगन भएको थियो। उक्त मतपत्रमा अनधिकृत व्यक्तिले मतदान गरेको भन्दै नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र एक स्वतन्त्र उम्मेदवारले विरोध जनाएपछि मतगणना अन्योलपूर्ण बनेको थियो। डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले सर्वदलीय बैठकबाट सहमति भएपछि मतगणना सुरु भएको जानकारी दिइन्।
मतगणनाका क्रममा भेटिएका अर्धकट्टीसहितका पाँच मत बदर गर्ने सहमति भएसँगै बिहान साढे ५ बजेबाट रोकिएको मतगणना सुरु भएको जनाइएको छ।