काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२५ फाल्गुन २०८२
तस्बिर : रासस
अ+
अ-

बागलुङ। बागलुङको रायराँयकोट यतिबेला चर्चामा छ।

गुराँसको जंगलबीच रहेको धार्मिक तथा पर्यटकीयस्थल रायराँयकोटमा पूर्वाधार थपिएसँगै त्यहाँ पुग्ने पर्यटक बढेका हुन्। रायराँयकोटमा सडक, विद्युत्‌लगायत पूर्वाधारको विकास भएको छ। सत्तल पनि निर्माण भएको छ।

रायराँयकोट पञ्चकोटसँग जोडिएकाले पनि पर्यटक आकर्षित गर्न सहज भएको हो। बागलुङ नगरपालिका ७‚ बौलुङमाथिको डाँडामा रहेको रायराँयकोट आसपासको क्षेत्र गुराँसले ढकमक्क भएको स्थानीय लालबहादुर गौतमले बताए। यहाँ वैशाख र जेठमा स्थानीय समुदायले वर्षादेवका रूपमा पूजासमेत गर्दै आएका छन्।

बागलुङ नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट यहाँको पूर्वाधार निर्माणमा सहयोग आएको छ। अहिले त्यहाँ सडक पुगेकाले सहज भएको छ। गौतमले भने, “पदमार्ग, खानेपानी, शौचालय र सत्तलजस्ता धार्मिक पूर्वाधार निर्माण भएका छन्। अहिले गुराँससँग फोटो खिच्ने, टिकटक बनाउने र हिमशृङ्खला हेर्न यहाँ आउने बढेका छन्।”

गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयअन्तर्गत रायराँयकोटमा अहिलेसम्म २० लाख रुपैयाँको पूर्वाधार निर्माण भइसकेको छ। मन्दिरको छाना छाउने, पुरानो घण्टी संरक्षण‚ सत्तल निर्माण, पर्खाल निर्माण र मैदान बनाइएको छ। यस्तै पञ्चकोटदेखि संसारकोट पुग्ने पदमार्ग निर्माणका लागि ५० लाख रुपैयाँ बजेट संघीय सरकारबाट आएको छ।