काठमाडौँ। नेपाल आयल निगमले विभिन्न स्थानमा केही पसल तथा व्यक्तिले बोतल तथा जेरिक्यानमा पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल आदि) बिक्री गरिरहेको भन्दै त्यस्तो काम तत्काल रोक्न निर्देशन दिएको छ।
निगमले सोमबार पेट्रोलियम डिलर्स एसोसिएसन, धनुषा र महोत्तरीलाई पत्र लेख्दै यस्तो निर्देशन जारी गरेको हो।
सार्वजनिक गुनासो प्राप्त भएकातर्फ ध्यानाकर्षण भएको जनाउँदै निगमले अतिप्रज्ज्वलनशील पेट्रोलियम पदार्थ यसरी बिक्री गर्दा आगलागी तथा विस्फोटजस्ता दुर्घटनाको सम्भावना बढ्ने बताएको छ।
पत्रमा विक्रेता तथा पेट्रोल पम्पहरूलाई बोतल र जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न र नगराउन निर्देशन दिइएको छ। “उपरोक्त सम्बन्धमा विभिन्न स्थानका केही पसल तथा व्यक्तिहरूले पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल आदि) बोतल तथा जेरिक्यानहरूमा भरी बिक्री-वितरण गर्दै गरेको जनगुनासो प्राप्त भएको सन्दर्भमा यस कार्यालयको ध्यानाकर्षण भएको छ‚” डिपो प्रमुख रञ्जित कपडीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ‚ “अतिप्रज्वलनशील पेट्रोलियम पदार्थहरू बोतल, जेरिक्यानमा बिक्री-वितरण गर्दा आगलागी तथा विस्फोट जस्ता दुर्घटनाको सम्भावना बढ्ने हुनाले तहा मातहतको विक्रेता/पेट्रोल पम्पहरूलाई बोतल जेरिक्यानहरुमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न नगराउनहुन साथै डिलर्स एसोसियनमार्फत आफ्ना सदस्यहरू तथा सर्वसाधारणलाई सचेत गराउन र नजिकै रहेको आधिकारिक विक्रेता/पेट्रोल पम्पबाट मात्र इन्धन खरिद गर्न जानकारी गराइदिनु हुन निर्देशानुसार अनुरोध छ। निगमबाट अनुगमनका क्रममा कैफियत भेटिएमा निगमको विनियमानुसार र नेपाल सरकारको प्रचलित कानुनबमोजिम कारबाही हुनेसमेत यसै पत्रमार्फत जानकारी गराइन्छ।”
अनुगमन गर्दा कैफियत भेटिए निगम विनियमावली र नेपाल सरकारको प्रचलित कानुनबमोजिम कारबाही हुने पनि पत्रमार्फत चेतावनी दिइएको छ। साथै निगमले डिलर्स एसोसिएसनमार्फत आफ्ना सदस्य तथा सर्वसाधारणलाई सचेत गराउन र नजिकैको आधिकारिक विक्रेता र पेट्रोल पम्पबाट मात्र इन्धन खरिद गर्न जानकारी गराइदिन अनुरोध पनि गरेको छ।
